जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १९:३४

महेश बस्नेतको सुझाव : कसैलाई थर्काउनु परे पत्रकार लगाईदिन्छु भन्ने अवस्था रोकिनुपर्छ


खोटाङ, जेठ २६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले कसैलाई थर्काउनु परे पत्रकार लगाईदिन्छु भन्ने अवस्थामा देश पुगिसकेको भन्दै मिडियाप्रति कठोर टिप्पणी गर्नुभएको छ ।

पछिल्लो समय केही अगुवाहरुबाटै सामाजिक सञ्जालमा आइरहेका फेक कुरालाई आधार बनाएर समाचार बनाउने र चरित्र हत्यालाई प्राथमिकता दिन थालिएको भन्दै बस्नेतले कठोर टिप्पणी गर्नुभएको हो । ‘अव त कसैलाई थर्काउनु परे पर्ख तिमीलाई पत्रकार लगाईदिन्छु भन्ने अवस्थामा देश पुगिसक्यो, सवै मिडिया होइनन, केही मिडियाका कारण मुलुकमा यस्तो अवस्था देखिएको छ, यो अवस्था रोकिनुपर्छ,’ खोटाङको दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वउद्योग मन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले अराजकता फैलाउने प्रकारका गतिबिधि गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो । उहाँले मुलुक र पत्रकारिता क्षेत्रकै बदनामी रोक्न मिडिया काउन्सिल बिद्येयक अनिवार्य रहेको धारणा पनि राख्नुभयोे । बताउनु भएको छ । सामाजिक सञ्जालमा आएका भ्रामक कुरालाई आधार बनाएर सनसनी फैलाउने खालका मिडियाहरु पनि सञ्चालनमा रहेका कारण मिडिया काउन्सिल बिधेयक आवश्यक र अनिवार्य रहेको बस्नेतको तर्क थियो ।

मिडिया काउन्सिल बिधेयक संशोधन वा फिर्ता भन्ने कुरा प्रक्रियाबाटै हुने भन्दै आन्दोलन नै गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पार्नुभयो । धार्मिक भ्रमणको क्रममा खोटाङ आइपुग्नु भएका बस्नेतले वर्तमान सरकार शिक्षा, स्वास्थ्य, विकास, भ्रष्ट्राचार उन्मुलन, अपराधी नियन्त्रण जस्ता कार्यमा जुटेको ठोकुवा गर्नुभयो ।

उहाँले महालेखाले देखाएको अनियमितता, कर बक्यौता लगायतका विषयमा पनि सरकार कटिबद्ध रहेको बताउनु भयो । करदाता र श्रमदाताको सम्मानले मुलुकको समृद्धि हुने भएकाले सरकार त्यसैको पक्षमा उभिएको बस्नेतले भनाई थियो ।