जनता टाइम्स

२२ बैशाख २०७८, बुधबार १३:५६

एमालेको सरकार ढाल्न बिपक्षी गठबन्धनमा समाहित भए माधव नेपाल



काठमाडौं, बैशाख २२ । एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध खुलेरै मैदानमा उत्रनु भएको पाइएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि असफल बनाउने रणनीतिमा नेता नेपाल विपक्षी गठबन्धनमा नेता नेपाल समाहित हुनुभएको तथ्य बाहिर आएको हो ।

नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहित छलफल गर्नुभएको थियो । आज विहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको घरमा नेपालसहितका नेताहरुले छलफल गर्नुभएको हो । जसपाको एउटा पक्षले उपेन्द्रहरुलाई नै कारवाहीको तयारी गरेपछि एमालेबाट कारवाहीमै पर्नुभएका माधव नेपालसहित प्रचण्डले छलफल गर्नुभएको हो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हात्तीवनस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता नेपाल छलफलका लागि जुटेको बताइएको छ ।

तीन नेताबीच एमाले र जसपाको आन्तरिक समीकरणकै विषयमा केन्द्रित रहेर छलफल भएको थियो । स्रोतका अनुसार सो बैठकमा एमालेका कति सांसदले राजीनामा दिने र जसपाका कति सांसदलाई बाबुराम–उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्ने विषय केन्द्रित छलफल भएको छ ।प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत लिनबाट असफल बनाउने र उनकै नेतृत्वमा चुनाव हुने संख्या नपुग्नेगरि राजिनामाको विषयमा छलफल भएको यादवनिटक एक नेताले जनताटाइम्सलाई बताए । सो बैठकमा जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने उपायबारे समेत छलफल भएको थियो ।

यसअघि मंगलवार साँझ महाराजगञ्जस्थित प्रमोद राणाको घरमा नेपाल, प्रचण्ड र यादवले कांग्रेस सभापति देउवाले छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिन संसद बैठक तय भएपछि त्यसलाई असफल बनाउन नेपालले नै नेतृत्व गरी कम्फर्टेवल सरकार बनाउने अभियान थाल्नुभएको हो । सर्वाेच्चको फैसलापछि पेरिसडाँडामा बैठक गरेर एमाले फर्किएको नाटक गर्नुभएका नेता नेपालले त्यसयता पनि लगातार एमालेबिरुद्ध नै अभियान छेडनु भएको छ । प्रधानमन्त्री ओलीलाई हटाएर भारतका लागि कम्फर्टेवल सरकार बनाउने अभियानमा नेपालसहितका चार नेता हुनुहुन्छ ।