जनता टाइम्स

२२ बैशाख २०७८, बुधबार १८:५५

प्रधानमन्त्री ओलीको त्यो प्रस्तावमा सहमत बने देउवा


काठमाडौं, बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान निर्माणको नेतृत्वकर्ता दलको हैसियतले फेरि एकपटक एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुनुपर्ने प्रस्ताव राख्नुभएको छ । आफ्नो पार्टीका शीर्ष नेताहरुसहित कांग्रेस सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा पुग्नुभएका एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले बिश्वासको मत लिने आफ्नो निर्णयबारे जानकारी गराउँदै मुलुकका खातिर फेरि दुई दल एक ठाउँमा उभिनैपर्ने तथ्यसहितको प्रस्तव राख्नुभएको हो ।

‘हामी (एमाले र कांग्रेस) लोकतान्त्रिक शक्ति हौं, लामो संघर्ष गरेर यहाँसम्म आइपुगेका छौं, संबिधान बनाएर यसलाई कार्यान्वयन गर्दै यो बिन्दुसम्म ल्याउने काम हामीले नै गरेका हौं, मुलुकलाई समृद्ध बनाउनका लागि अव पनि यसै अनुसार अगाडि बढनु पर्छ,’ कांग्रेस सभापति देउवासहितका नेताहरुसामू आफ्नो प्रस्ताव राख्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी दुई दल सत्ता वा प्रतिपक्षमा रहौं, तर मुलभुत बिषयमा एउटा समझदारी राखेर अघि बढनुपर्छ, हामीले २७ गते बिश्वाशको मत लिने भनेका छौं, त्यसमा तपाईहरुले जे गर्दा पनि अन्यथा धारणा हामीले राख्न मिल्दैन, अन्यथा धारणा रहँदैन तर त्यसपछि पनि मुलभुत कुरामा हामी एक ठाउँमा उभिनुपर्छ ।

प्रधानमन्त्री ओलीले एमाले र कांग्रेसबीचको समझदारीबाट मात्रै मुलुकको स्थिरता र बिकाश संभव रहेको भन्दै त्यसैतर्फ आफूलाई उभ्याउन पनि प्रस्ताव गर्नुभएको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीको प्रस्तावमा कांग्रेस सभापति देउवासहितका नेताहरुले ढिला भएपनि अत्यन्तै उपयुक्त प्रस्ताव आएका बताउनु भएको छ । ‘यस्तो छलफल पहिला नै हुनुपथ्र्याे, प्रधानमन्त्री आफै बिपक्षी दलको नेताको घरमा यसरी छलफल गर्न आएर साँच्चीकै बिश्वासको बातावरण बनाउने काम गर्नुभएको छ, तपाईको प्रस्ताव पनि उचित नै छ,’ बैठकमा देउवासहित कांग्रेस नेतहरुको भनाई थियो । दुई दलबीच बैशाख २७ गतेपछि पनि सहकार्य गर्दै अघि बढने बिषयमा समेत कुराकानी भएको थियो ।

हामी (एमाले र कांग्रेस) लोकतान्त्रिक शक्ति हौं, लामो संघर्ष गरेर यहाँसम्म आइपुगेका छौं, संबिधान बनाएर यसलाई कार्यान्वयन गर्दै यो बिन्दुसम्म ल्याउने काम हामीले नै गरेका हौं, मुलुकलाई समृद्ध बनाउनका लागि अव पनि यसै अनुसार अगाडि बढनु पर्छ

‘प्रधानमन्त्रीले डिटेलमा आफ्नो धारणा राख्नुभयो, सत्तापक्षका कमीमकजोरी र प्रतिपक्षको कमीकमजोरीबारे पछि बिस्तृत छलफल गरौंला, अहिले चाँहि दुई दलबीचको सहकार्यसहित अगाडि बढनुपर्छ भन्ने निचोडमा कुरा राख्नुभयो,’ बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले जनताटाइम्ससँग भन्नुभयो । उहाँका अनुसार बार्तामा अत्यन्तै सकारात्मक कुराकानी भएको छ । कांग्रेस नेताहरुसँग छलफल गर्न प्रधानमन्त्री ओली उपप्रधानमन्त्री एवं पार्टी महासचिव इश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री बिष्णु पौडेलसहित आज दिउसो ४ बजे देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको थियो ।

बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्वय डा. सशांक कोइराला, पुर्णबहादुर खडका, सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वमहामन्त्री कृष्ण सिटौला सहभागी हुनुभएको थियो । सो बार्तामा प्रधानमन्त्री ओलीले एमाले र कांग्रेस जस्ता लोकतान्त्रिक शक्ति नमिल्दा मुलुकले बिगतमा भोग्नुपरेको कठिनाई उधृत गर्दै नमिले भविश्यमा पनि यस्तै कठिनाइको सामना गर्नुपर्नेतर्फ कांग्रेस नेताहरुको बिशेष ध्यानाकर्षण गराउनु भएको थियो ।