जनता टाइम्स

२८ बैशाख २०७८, मंगलवार १०:०५

कुनै व्यक्ति सरकारमा जान्छु भनेर कसरी सरकार बन्छ ? फेरि केपी ओली प्रधानमन्त्री : नेता महतो


काठमाडौं, बैशाख २८ । नेपाली काँग्रेस र माओवादी केन्द्र सम्मिलित गठबन्धन सरकारका लागि जनता समाजवादी पार्टी (जसपा)मा निर्णायक बनेको छ । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोले सत्ता गठबन्धनको नयाँ प्रयासमाथि आपत्ति जनाएनुभएको छ ।

अब नयाँ सरकार गठनका लागि काँग्रेस र माओवादीलाई सिंगो जसपाको साथ आवश्यक छ । तर, जसपाको ठाकुर पक्षले नयाँ सरकार निर्माणको पक्षमा नरहेको जनाएको छ । अध्यक्ष ठाकुरले वक्तव्य नै निकालेर नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने बताउनुभएको छ । ‘राष्ट्रपतिजीले दुई वा दुई भन्दा बढी दल बहुमत प्राप्त सदस्यले सरकार बनाउन सक्ने भनेको छ,’ जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले भन्नुभयो , ‘त्यसमा जसपा पार्टी सरकारमा जाने छैन । जसपा सरकारमा जाँदैन भने कुनै व्यक्ति सरकारमा जान्छु भनेर जान पाउँदैन । यहाँ राष्ट्रपतिजीले पार्टी पो बोलाउनुभएको छ , ब्यक्ति होईन ।’

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत लिन नसकेको जानकारी संसद् सचिवालयले गराएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको छ । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

कानुनविद्हरुका अनुसार संविधानको धारा ७६ को २ ले दुई वा दुई भन्दा बढी दलको बहुमत खोजेकाले सांसद थपथाप गरेर बहुमत पुर्याउने कुराको अर्थ छैन । त्यसैले नयाँ सरकार निर्माणका लागि जसपाको औपचारिक विभाजन र एमालेका झलनाथ खनाल–माधव नेपाल पक्षको सांसदको राजीनामा अनिवार्य बनेको छ । तीन दिनभित्र जसपाको औपचारिक विभाजन सम्भव पनि छैन । उपेन्द्र यादवको मात्र हस्ताक्षर गरेर गठबन्धन सरकार निर्माण नहुने महतोको जिकिर छ । ‘जसपा एउटा पार्टी हो । कुनै व्यक्ति सरकारमा जान्छु भनेर विज्ञप्ति निकाल्दैमा कसरी सरकार बन्छ? उपेन्द्र यादव भनेको दल होइन । जसपाको प्रत्येक अध्यक्ष दल हो, म यो गर्छु भन्न पाउँदैन । त्यस्तो हो भने जो प्रथम अध्यक्षले लिने निर्णय नै पार्टीको आधिकारिक लाइन हुन्छ,’ उहाँले भन्नुभयो । वैकल्पिक शक्ति निर्माणमा जुटेका जसपामा हजारौं कार्यकर्ता उपेन्द्र यादवलाई कुर्सी दिलाउन पार्टी विभाजन गर्ने पक्षमा नरहेको महतोको भनाइ छ ।

‘हामी कुनै व्यक्तिलाई कुर्सी दिलाउन एकता भएका होइनौं । कुनै पनि नेता कार्यकर्ता पार्टी विभाजन गराएर सत्तारोहण गराइदिन जन्मेको होइन । पार्टी पनि जन्मेको होइन,’ उहाँ भन्नुहुन्छ ‘यो फोरम होइन । एक्लै उपेन्द्र यादव दौडेर सरकारमा गएर जनतालाई धोका दिने काम गर्न सक्नुहुन्न । जसपामा कसैको त्यस्तो चल्दैन । कसैले सपना नदेखे हुन्छ ।’ काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार बनाउन नसक्ने पनि महतोले दाबी समेत गर्नुभयो । ‘देउवाजी सरकार बनाउन सक्नुहुन्न । राष्ट्रपतिजीलाई पार्टी चाहिएको हो । म फेरि पनि भन्छु जसपा सरकारमा जाँदैन जाँदैन उहाँले भन्नुभयो । महतोका अनुसार एमालेको खनाल नेपाल पक्षका सांसदको साथ सहयोगबाट पनि नयाँ सरकार बन्न सक्ने सम्भावना छैन ।

‘अब कुनै माधव नेपालले पनि गठबन्धनको सरकार बनाउन सक्दैन । माधव नेपालको पनि पार्टी चाहियो नि , माधव नेपालको पार्टी खोइ ? काँग्रेस र माओवादी पार्टीको बहुमत पुग्दैन । जसपा जाँदैन ।’ उहाँले भन्नुभयो । काँग्रेस सभापति देउवालाई सरकार बन्न सक्दैन भनेर भेटेरै सूचना दिएको समेत महतोले बताउनुभयो ।

‘जसपा सरकारका लागि तयार छैन । चुनावी सरकारमा जाँदा त्यतिबेला सोचौँला । किर्ते गतिविधिमा नफस्नुस्, धोका हुन्छ तपाईंलाई भनेर देउवाजीलाई हामीले प्रष्टरुपमा भनेको थियौं ।’ उहाँले भन्नुभयो । महतोका अनुसार जसपा सरकारमा नजाने र कुनै गठबन्धनमा सामेल नभएको कुरा प्रथम अध्यक्ष (महन्थ ठाकुर) ले राष्ट्रपतिलाई लेखेर दिनुहुन्छ। त्यसपछि गठबन्धनको सरकार बनाउने खेल खत्तम हुने उहाँको दाबी छ । संवैधानिक प्रक्रियाअनुसार फेरि केपी ओली प्रधानमन्त्री हुने सम्भावना बढी देखिएको महतोको विश्लेषण छ ।