जनता टाइम्स

२९ बैशाख २०७८, बुधबार १३:४३

देउवा र प्रचण्डसँग मिलेर माधवले एमाले समाप्त पार्ने कसम खाएको कर्ण थापाको खुलासा


काठमाडौं, बैशाख २९ । नेकपा एमाले सदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले माधव नेपालले पार्टी समाप्त गर्ने कसम खानुभएको ठोकुवा गर्नुएको छ । एमालेका कुनै पनि सांसद् पदबाट राजीनामा दिन नसक्ने भन्दै अध्यक्ष थापाले पार्टी समाप्त पार्न कसम खाएकाले मात्र सांसद् पदबाट राजीनामा दिने उहाँले बताउनुभयो ।

‘देउवा र प्रचण्डसँग मिलेर माधवकुमार नेपालले पार्टी समाप्त पार्न कसम खानुभएको छ, त्यसैले उहाँहरु सांसद् पदबाट राजीनामा दिने कुरा गर्दै हुनुहुन्छ,’ थापाले भन्नुभयो । माधव गुटभित्र केही मान्छे मात्र सांसद् पदबाट राजीनामा दिने र पार्टी फुटको पक्षमा रहेको थापाको भनाई छ । राजीनामा गरेर माधव गुटले पार्टी र आफ्नो हत्यागर्न खोजेको उहाँको आरोप छ ।

‘राजीनामा भनेको आत्महत्या हो । यसकारण उहाँहरुप्रति सहानुभूतिबाहेक केही व्यक्त गर्न सकिन्न, एमालेमा पार्टी समाप्त पार्न आत्महत्या गर्नेको संख्या चार–पाँच जना मात्र हो,’ थापाले भन्नुभयो, ‘माधवकुमार नेपाल, भीम रावल, भलनाथ खनाल लगायतका केहीले मात्र राजीनामा गर्नुहुन्छ, अरु सबै एकताको पक्षमा हुनुहुन्छ ।’ जे गरेर पनि एमाले समाप्त पार्ने भन्ने माधव नेपालले वचन दिईसक्नु भएको थापाको भनाइ छ । ‘आत्महत्या गरेर भएपनि एमाले समाप्त पार्ने माधव नेपालको योजना पूरा गर्न दिन्नौं,’ थापाले भन्नुभयो । थापाका अनुसार प्रचण्डलाई खुशी पार्न माधव गुटले हर प्रयास गर्ने देखिएको छ ।

पार्टी भित्रका अधिकांश नेतासँग भने अझै मेलमिलाप गर्न वार्ता भईरहेको थापाले बताउनुभयो । पार्टी एकता कायम राख्न गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भुसाल लगायतसँग वार्ता भईरहेको थापाको भनाइ छ । एमाले अहिले पनि एक जुट रहेको उहाँको भनाई छ । थापाका अनुसार ‘माधव नेपालको विभाजनको योजनामा गोकर्ण, योगेश लगायतका नेता हुनुहुन्न, उहाँहरुसँग लगातार वार्ता भईरहेको छ, केही भाईरसबाहेक एमाले अहिलेसम्म पनि एकजुट नै छ ।