जनता टाइम्स

३१ बैशाख २०७८, शुक्रबार १९:४४

मन्त्रिपरिषदमा अक्सिजन उद्योगको शुल्क छुट गर्ने प्रस्ताव लैजाँदै ऊर्जामन्त्री रायमाझी



काठमाडौं, बैशाख ३१ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले देशभरका सबै अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गर्नुभएको छ । विसं २०७८ वैशाखदेखि लागू हुने गरी आगामी असोज मसान्तसम्म खपत गरिएको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्ने गरी प्रस्ताव लैजान लागिएको हो ।

कोभिड –१९ को बढ्दो संक्रमणले अस्पताल भर्ना हुने बिरामी दिनानुदिन बढेपछि अक्सिजनको आपूर्ति सहज बनाउन सो निर्णय गरिएको मन्त्री रायमाझीले बताउनुभयो । उहाँले उद्योग २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मन्त्रालयको निर्णयले उद्योग सञ्चालक र उद्योगमा कार्यरत मजदूरलाई राहत मिल्ने जानकारी पनि दिनुभयो ।

कोभिडका कारण मानिसको मृत्युदरसमेत बढिरहेकाले पशुपति आर्यघाटमा रहेको विद्युत शवदाहगृहको विद्युत डिमाण्ड शुल्क छुट गरिने उहाँले जानकारी दिनुभयो । मन्त्री रायमाझीका अनुसार छुट शुल्कवापतको शोधभर्ना नेपाल विद्युत प्राधिकरणलाई नेपाल सरकारले उपलब्ध गराउन अर्थ मन्त्रालयको सहमतिका लागि पत्राचारसमेत गरिएको छ ।