एउटा युगीन दृष्टि, स्पष्ट विचार र कलाचेत भएको व्यक्ति जुनसुकै क्षेत्रमा लागे पनि सफल हुन्छ भन्ने कुराको प्रमाण मदन भण्डारीको व्यक्तित्व हो। एउटै वाक्यमा सिंगो देश, सिंगो मानवजीवन र वर्तमानको समग्र चित्र उतार्न सक्ने कवि भण्डारी केवल नेपालको राजनीतिक इतिहासका मात्र नभएर साहित्यिक इतिहासका पनि उल्लेख्य व्यक्तित्व हुन भन्न सकिन्छ
डा. देवी नेपाल
मदन भण्डारी नेपाली राजनीतिका मात्र नभएर साहित्य क्षेत्रका पनि त्यत्तिकै सशक्त व्यक्तित्व हुन् तर उनको यो पाटो ओझेलमा परेको छ। उनको चर्चा जति राजनीतिक क्षेत्रमा पाइन्छ, त्यति साहित्यिक क्षेत्रमा पाइँदैन। उनको राजनीतिक जीवनको थालनी हुनुभन्दा अगाडि नै साहित्यिक जीवनको थालनी भएको कुरा धेरैलाई थाहा छैन तर उनका कवितामा युगीन आवाजहरू मात्र होइन, दूरगामी प्रभाव पार्ने खालका भविष्यवाणीहरू पाइन्छन्। प्रखर विचार, युगीन आवाज र परिष्कृत कवित्व उनको सिर्जनाका विशेषताहरू हुन्।
विचार र कलाको संयोजनबाट तत्कालीन समाजको प्रतिविम्बन गर्ने साथै चेतना र जागरणको शंखघोष गर्ने कार्यमा भण्डारीका कविताहरू अचुक अस्त्र प्रमाणित भएका छन्। उनको साहित्यकार व्यक्तित्वलाई उद्घाटन गर्ने दुईवटा कृतिहरू प्रकाशित छन्, ती हुन्— मदन भण्डारी : संकलित रचना (भाग–४, २०६७) र मदन भण्डारीका कविता र गीतहरू (किताब र सिडी दुवै २०६९)। यी दुई कृतिभित्र समेटिएका कविताहरूमा तत्कालीन नेपाली समाजको सामाजिक, राजनीतिक र मानवीय प्रवृत्तिको यथार्थ चित्रांकन गरिएको पाइन्छ।
ताप्लेजुङको ढुंगेसाँघुमा २००९ असार १४ गते जन्मिएर २०५० जेठ ३ गतेको रहस्यमय दासढुंगा दुर्घटनामा भौतिक शरीरलाई समाप्त गर्न पुगेका कवि भण्डारीले विद्यार्थीकालदेखि नै सिर्जनायात्राको थालनी गरे। ६ वर्षकै उमेरमा चण्डीका श्लोकहरू कण्ठस्थ सुनाएर सबैलाई छक्क पार्ने भण्डारीमा वरडाँडा पाठशालामा लघुकौमुदी पढ्दादेखि नै शक्तिशाली प्रतिभाको बीज रोपिइसकेको थियो। बालसुबोधिनी संस्कृत पाठशालामा कक्षा ६ बाट अध्ययन सुरु गरी २०२४ सालमा प्रवेशिका उत्तीर्ण गरेपछि वृन्दावनतिर उच्चशिक्षा अध्ययनार्थ लागेका भण्डारीले वाराणसेय संस्कृत महाविद्यालयबाट साहित्यमा प्रथम श्रेणीमा शास्त्री र आचार्यसम्मको पनि अध्ययन पूरा गरे।
भारत प्रवासमा रहँदा उनको व्यक्तित्व युवाकविका रूपमा परिचित थियो। उनको वैचारिक झुकाव कम्युनिस्ट आन्दोलनतिर भए पनि कार्यगत सक्रियता साहित्यतिर थियो। कवि भण्डारी विभिन्न छद्मनामबाट कविता सिर्जना गर्थे। उक्त समयमा बनारसदेखि लिएर सिलाङसम्मका नेपाली पत्रिकाहरूमा उनका कविता तथा अन्य रचना प्रकाशित भएका थिए। त्यतिबेला पुष्पलालहरूले पनि मदनलाई कविकै रूपमा चिन्ने गर्थे। २०२६ सालतिर छन्दमा सरस र सुमधुर कविता लेख्ने उनी एक दिन राजनीतिक विषयवस्तु सोध्न मोहन चापागाईँसँग गएका थिए तर चापागाईँले ‘यस्ता दारी नै नपलाएका ठिटाले राजनीति सिक्ने हो ?’ भनेपछि घर फर्केर “नेता हुन्थें म पनि कि कतै दारी हो उम्र उम्र” भन्ने मन्दाक्रान्ता छन्दमा व्यंग्यात्मक कविता रचना गरे। यसबाट उनको लेखनमा आँसुकवित्व र व्यंग्यचेतना दुवै प्रखर थिए भन्ने प्रमाणित हुन्छ। उनी २०२९-३० मा बनारसबाट प्रकाशन हुने छात्रप्रभा पत्रिकाका प्रधान सम्पादकसमेत थिए। उनले छात्रप्रभाको सम्पादकीय नै कवितामा लेख्ने गर्थे। एक अंश :
जाऊ ‘छात्रप्रभा’ लिएर बम यो टङ्कारिई पड्किद्यौ
निर्धा झोपडिका किसान जनका उत्साहका साथ हौ
यो पञ्चायति राजको कपटको घुम्टो उदाङ्ग्याइद्यौ
नेपाली दिलभित्रको मुलुकमा यै चेतना ल्याइद्यौ।
प्रस्तुत अंशले सिर्जनाको काम कपोलकल्पना, अनावश्यक भावुकता, पलायन, कुण्ठा र विकृत मानसिकतालाई पोख्ने होइन, सामाजिक जागरण ल्याउने हो भन्ने मान्यताको स्थापना गरेको छ। सन् १९७३÷३÷११ का दिन कवि युद्धप्रसाद मिश्रको अध्यक्षतामा बनारसमा एक भव्य कविता प्रतियोगिता भयो। जसमा भण्डारीको ‘मित्र पो चिन्नुपर्छ’ कविता समस्यापूर्तिमा र ‘लौ उत्र संघर्षमा’ कविता पद्यसाहित्यमा गरी दुवै विधामा प्रथम भयो। कविताको एक अंश यस्तो छ :
गर्छन् क्रान्ती धनिकहरूले भन्दछौ भ्रान्ति छोड
बोल्दा दोग्ला पदसमुहले व्यर्थ नाता नतोड
काले, हर्के गरिबहरूमा क्रान्तिशक्ती अडिन्छ
खोज्छौ माथि तल झुपडीका मित्र पो चिन्नुपर्छ।
प्रस्तुत अंशमा क्रान्तिको व्यावहारिक परिभाषा गरिएको छ। यसले युगीन महŒवलाई नबुझी, वर्गशत्रु र वर्गमित्रलाई नचिनी र धनीवर्गको नेतृत्वमा क्रान्ति गरेर सामाजिक तथा राजनीतिक परिवर्तनको सपना देख्नेहरूलाई वास्तविक क्रान्ति के हो भन्ने विषयमा स्पष्ट दिशानिर्देश गरेको छ। यो कविता मन्दाक्रान्ता छन्दका पाँच श्लोकमा रचिएको छ। पद्यसाहित्यअन्तर्गत प्रथम भएको ‘लौ उत्र संघर्षमा’ कविता शार्दूलविक्रीडित छन्दका पाँच श्लोकमा रचिएको छ। यो वैचारिक दृष्टिले निकै खरो रूपमा देखापरेको कविता हो। त्यतिबेलै (२०३० साल) स्वतन्त्रता र नागरिक अधिकारका बाधक राजा हुन् भन्ने निष्कर्ष निकालेर मदनले राजा र राजसंस्थाविरुद्ध जनतालाई उत्रिन यसरी आह्वान गरेका थिए ः
ए राजा ! ल तँलाइ बल्ल मजले जानेँ दलाहा र’छस्
छाती फोरि गरीबका रगतले बाँच्ने चुसाहा र’छस्
पैसे मित्र लँगौटियार तँसँगै तेरा भरौटे सब
के बाच्लान् र ! किसान हौँ, बल भए लौ उत्र सङ्घर्षमा।
यही कवितामा उनले ‘क्रान्ति भन्ने कुरा भोजभतेर होइन’ भन्दै क्रान्ति, परिवर्तन, त्याग, बलिदान, वर्गशत्रु, वर्गमित्र आदिका बारेमा स्पष्ट जानकारी दिएका छन्। ‘भर्तीवाले पोइलाई चिठी’ कवि भण्डारीको अर्को सशक्त कविता हो। यस कवितामा जहाँ ठुलाठालुको राज हुन्छ, त्यहाँ गरिबको अस्मिता जिउन सक्दैन र मानवताको पनि अर्थ रहँदैन भन्ने कुरालाई करुणा मिश्रित भावमा अभिव्यक्त गरिएको छ। यसरी नै २०३२ सालमा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित ‘गोरु फुकाऊ हली हो’ शीर्षकको कवितामा वर्गीय असमानताको चित्रण यसरी गरिएको छ :
जोत्ने, खन्ने हामी सधैँ सधैँ जिउँदा मर्दा
हाम्रो रगत आर्जनमा सामन्तको बिर्ता।
…
सामन्तको छाला काढी नारा बनाउनु छ
बेला भयो गोरु फुकाऊ देश बनाउनु छ।
कवि भण्डारीले कवितामा नेपाली नारीहरूको अवस्थालाई पनि चित्रण गरेका छन्। यसका साथै नारीजागरणका लागि पनि उद्घोष गरेका छन् :
गएर भन्देऊ न, ती हाम्रा दिदी र बैनीलाई
साह्रै नै थिचोमिचो छ नेपाली नारीलाई।
भण्डारीले रत्नकुमार बान्तवाको योगदान र बलिदानलाई विषयवस्तु बनाएर एउटा गीत नै लेखेका छन्। आक्रोशपूर्ण ठाडो भाषामा लेखिएको भए पनि प्रस्तुत गीतमा हत्या र दमनले क्रान्ति नरोकिने कुराको उद्घोष यसरी गरिएको छ :
इलामको माटोमा झुल्केको सूर्य बादलले छोपिन्न
रत्नको बाटो पछ्याउँछौँ हामी बाधाले रोकिन्न
बाधाका शिर कुल्चेर हिँड्छन् अजेय सन्तानले
क्रान्तिको गति रुक्तैन कहिल्यै हत्या र दमनले।
कवि मदन भण्डारीले वार्णिक छन्द, लोकछन्द र मुक्तछन्द तीनै प्रकारका छन्दमा कविता रचना गरे। ‘नियत नबांगिएकाहरू’ शीर्षकको कविता मुक्त छन्दमा लेखिएको सुन्दर सिर्जना हो। उनको यही कविव्यक्तित्वको प्रभाव भाषणमा पनि देखिन्छ। साहित्यिक अभिव्यक्ति, प्रतीकात्मक प्रस्तुतीकरण र सूक्तिमय प्रवाहशीलता उनका भाषणका विशेषता हुन्। त्यसैले भाषण गर्न मञ्चमा उभिएका जननेता भण्डारीलाई जनकवि भण्डारीले जहाँ पनि पछ्याइरहेको हुन्छ। उनको भाषणका पंक्तिहरूलाई केलाउन थाल्ने हो भने त्यहाँ जताततै कविता पाइन्छन्। जस्तै :
१. अब टाङमाथि टाङ गरेर
हातमाथि हात गरेर
हामी यदि आरामको निद्रा सुत्छौँ भने
हामी राति नै सखाप हुने छौँ।
२. सुतेको सिंहको होइन
मान्छेको रगत खाएर
मातेको सिंहलाई जगरमा समातेर
सडकमा पछार्दा
यो प्रजातन्त्र आएको हो।
यस्ता सयौं कवितात्मक उदाहरण मदनका भाषणमा पाइन्छन्। यस्ता प्राञ्जल भाषाशैलीका माध्यमबाट सूक्तिमय अभिव्यक्ति दिन खप्पिस उनका कवितामा विसंगत समाज र विदीर्ण देशको यथार्थ स्वरूप पाइन्छ। उनका रचनाहरू एकातिर उनको साहित्यप्रतिको झुकाव र गहिरो अध्ययन एवं संवेदनशील मुटुका मूर्त चित्र हुन् भने अर्कातिर उनलाई केवल राजनीतिक छाताभित्रको हृदयशून्य नेता मात्र देख्नेका लागि घतलाग्दो जवाफ पनि हुन्। एउटा युगीन दृष्टि, स्पष्ट विचार र कलाचेत भएको व्यक्ति जुनसुकै क्षेत्रमा लागे पनि सफल हुन्छ भन्ने कुराको प्रमाण मदन भण्डारीको व्यक्तित्व हो। एउटै वाक्यमा सिंगो देश, सिंगो मानवजीवन र वर्तमानको समग्र चित्र उतार्न सक्ने कवि भण्डारी केवल नेपालको राजनीतिक इतिहासका मात्र नभएर साहित्यिक इतिहासका पनि उल्लेख्य व्यक्तित्व हुन भन्न सकिन्छ।













प्रतिक्रिया दिनुहोस्