२७ जेष्ठ २०७६, सोमबार ००:००

एक सय मेगावाट क्षमताको नीलगिरि निर्माण शुरु


म्याग्दी, जेठ २७

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र नीलगिरिको पहुँचमार्ग निर्माण शुरु भएको जानकारी दिनुभयो ।

नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युत्गृहदेखि छोटेपा भन्ने ठाउँमा रहने बाँधसम्म सडक पुर्याएको छ । छोटेपादेखि नीलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलामा प्रस्तावित नीलगिरि खोलाको बाँधसम्म थप साढे तीन किलोमिटर सडक पुर्याउन काम शुरु गरिएको छ । डेढ वर्षको अवधिमा अक्करे पहाड छिचोलेर ११.५ किलोमिटर सडक निर्माण गरिएको हो ।

रानीबास भन्ने ठाउँमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ । नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानी नजीकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ । सुरुङ, विद्युत्गृह र बाँधको संरचना एकैसाथ निर्माण अघि बढाउने तयारी गरिएको इञ्जिनीयर केशव वाग्लेले बताउनुभयो । “नदीको उचाइ धेरै भएकाले दुई वटा आयोजना निर्माण गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “स्रोत जुटाउनेदेखि अन्य सबै प्रक्रिया पूरा भइसकेको छ ।”

पहुँचमार्ग बनेपछि निर्माण सामग्री ढुवानी गर्न र आवत–जावत गर्न सहज भएको छ । रु १३ अर्ब लाग्ने अनुमान गरिएको सो आयोजनाका लागि लगानी जुटिसकेको छ । चार दशमलव चार किलोमिटर सुरुङ हुने नीलगिरि क्यासकेडको पेनस्टक पाइपलाइन भूमिगत बनाइने भएको छ भने नीलगिरिको सुरुङ दुई हजार ४०० मिटर हुने आयोजनाले जनाएको छ । आगामी चार वर्ष्भित्र आयोजना पूरा गरिने लक्ष्य छ ।

विकट भएर पनि पर्याप्त उपकरण र जनशक्ति परिचालन गरिएको प्रतिनिधि गौतमले बताउनुभयो । ‘रन अफ द रिभर’ प्रकृतिको यो आयोजनाका लागि ठेकेदार कम्पनीसमेत छनोट भइसकेको छ । यहाँबाट उत्पादित विद्युत् दानामा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेशनमा पु¥याई केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ ।

नारच्याङमा हाल दश वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । पाँच मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला निर्माणको अन्तिम चरणमा छन् । यसैगरी १६५ मेगावाटको कालीगण्डकी गर्ज, चार मेगावाटको रेलेखोला, नौ मेगावाटको सुपर घलेम्दीलगायत आयोजना निर्माणको प्रक्रियामा रहेका स्थानीयवासी सुवास विश्वकर्माले बताउनुभयो ।