जनता टाइम्स

५ जेष्ठ २०७८, बुधबार ०९:४३

काठमाडौंबाट रुकुम पश्चिम हिडेको बस दाउन्नेमा दुर्घटना : ४ जनाको मृत्यु, ४९ घाइते


परासी, जेठ ५ । दाउन्ने पहाडबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । ४९ यात्रु घाईते भएका छन् । काठमाण्डौंबाट रुकुम पश्चिम यात्रु लिएर जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित दाउन्ने पहाडको खुर्सानी खोलामा आज बिहान ७ बजे खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २ महिला र २ पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले जानकारी दिए । मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन र सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षिय धनराज घर्ती रहेका छन् । अन्य २ को सनाखत हुन सकेको छैन ।

बस पहाडबाट १ सय ५० मिटर तल खसेको हो । एकजना बसमै च्यापिएको अवस्थामा रहेकाले क्रेन बोलाएर निकाल्ने प्रयास भईरहेको छ । बसलाई रुखले अड्काएका कारण मानवीय क्षति बढी हुन नपाएको प्रहरीले जनाएको छ । घाईते सबैको अहिले चिसापानी अस्पताल बर्दघाटमा उपचारका लागि पठाईएको छ । केही गंभिर छन् । सबैलाई तत्काल अस्पताल पठाइएकाले कति गंभिर छन् भन्ने बारे केही समयमा जानकारी हुने प्रहरी उपरीक्षक केसीले बताउनुभयो । काठमाडौंमा अलपत्र परेका रुकुम पश्चिमका स्थानीयलाई लिएर बस त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । बसमा ५८ जना यात्रु थिए ।