पोखरा, जेठ ५ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले मन्त्रीहरुको शपथग्रहण समारोह बहिष्कार गर्नुभएको छ । प्रदेशका मन्त्रीहरुको आज गरिएको शपथमा सभामुख अधिकारीले बहिष्कार गर्नुभएको हो ।
अधिकारी नेकपा माओवादी केन्द्रका नेतासमेत हुनुहुन्छ । कांग्रेस–माओवादी गठबन्धन पराजीत हुने भएपछि मतदानको बेला सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो । सभामुख अधिकारीको सो हर्कतपछि मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिई पुनः सवैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । कांग्रेस–माओवादी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि एमाले नेता गुरुङ नै पुनः मुख्यमन्त्री हुनुभएको हो ।
उहाँले आज पाँच जना मन्त्री नियुक्त गरी शपथ गराउँदा सभामुख अधिकारीले संबैधानिक पदकै हुर्मत लिएर बहिष्कार गर्नुभएको हो । सामान्यतः मन्त्रीहरुको शपथमा सभामुख, विपक्षी दलका नेताको उपस्थिति हुने परम्परा छ । तर गण्डकी प्रदेशमा दोस्रो पटक मन्त्रालय विस्तारमा सभामुख र विपक्षी दलका नेताले बहिष्कार गरेका हुन । सभामुख अधिकारीलाई सत्तारुढ एमाले सांसदहरुले पार्टी कार्यकर्ताको भूमिकामा बसेर काम गरेको आरोप लगाउँदै आएका छन् । यसअघि प्रदेश सभामा पेस भएको अविश्वास प्रस्तावमा मतदान हुने दिन विपक्षी सांसद अनुपस्थित हुँदा सभामुखले हठातमा बैठक स्थगित गरेपछि मुख्यमन्त्री स्वयंले पनि राजीनामा मागिनुपर्ने बताउनु भएको थियो ।
एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी सभामुखले संविधान अनुसार चल्नुपर्ने र पार्टी कार्यकर्ता बन्न नहुने बताउनु हुन्छ । सभामुख भइसकेपछि पार्टीको निर्देशन भन्दा पनि संविधानले दिने बाटो अनुसार सभामुख चल्नुपर्ने उहाँको भनाई छ । ‘केन्द्रमा पनि सभामुखले पार्टीको निर्देशन मानेर नजानु भएको होला, यहाँ पनि पार्टीकै निर्देशनमा नजानु भएको होला,’ अधिकारीले भन्नुभयो, ‘सभामुख भइसकेपछि त संविधान मान्नुपर्यो नि, पार्टीको निर्देशन होइन ।’













प्रतिक्रिया दिनुहोस्