जनता टाइम्स

११ जेष्ठ २०७८, मंगलवार ०९:२६

अमेरिकाबाट चाँडो भन्दा चाँडो नेपालमा खोप लैजाने पहल भइरहेको छ : डा. युवराज खतिवडा, राजदूत


अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । विदेशमन्त्री एन्थोनी व्लिकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमै उल्लेख गर्नुभयो । अमेरिकी सहयोग नियोग युएसएआइडीले नेपाललाई सहयोग गर्दै आएको छ र आगामी दिनमा अझ सहयोग बढाउने जानकारी उच्च अधिकारीहरूले सिनेटको कमिटीमा समेत दिनुभएको छ । वहुराष्ट्रिय देशहरूलाई सर्वसुलभ रूपमा अमेरिकाले उपलब्ध गराउने खोप आयोजना कोभ्याक्सको लागि नेपाल पनि लाभान्वित देश हो । यो प्रक्रियामा रहेको छ भने नेपालले अमेरिकाबाट खोप खरिद गर्ने प्रक्रिया पनि अगाडि वढाइरहेको छ ।

अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा यतिबेला अमेरिकी सरकारलाई नेपालको आवश्यकताअनुसारका सामाग्रीहरू, खोपलगायतको माग गर्ने कार्यमा अमेरिकी सरकारी एजेन्सीहरूसँग छलफल गर्न व्यस्त रहनुभएको छ । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका अमेरिकाका लागि नेपाली राजदुत खतिवडासँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपाल यतिबेला कोरोना महामारीको अवस्थामा छ, नेपाली नागरिकले अमेरिकामा उत्पादित खोपको लागि आग्रह गरिरहेको देखिन्छ । दूतावासले अमेरिकी सरकारी निकायसँग कसरी काम गरिरहेको छ ?

स्वाभाविक रूपमा म तीन महिना अगाडि अमेरिकामा आफनो कार्यभार सम्हाल्न आउँदै गर्दा अमेरिकामा कोरोना भाइरसको प्रकोप ज्यादै नै थियो । नेपालमा केही कम जस्तो देखिएको थियो । म आफैँ पनि यहाँ आएर केही समय आइसोलेशनमा बसेको थिएँ । भ्याक्सिन लिएपछि मात्रै काममा आएका हौँ । अमेरिकामा कोरोनाविरुद्धको खोपको प्रयोग पर्याप्त भइसकेको छ, त्यसैले यहाँ नियन्त्रणतर्फ अगाडि बढेको देखिन्छ ।

नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा अमेरिकी सरकारले युएसआइडीमार्फत उदारतापूर्वक स्वास्थ्य सामाग्री सहयोग गरिरहेको छ । थप बजेट पनि दिएको कुरा बाहिर आइसकेको छ । हामीसँग छलफल हुँदा युएसआइडीमार्फत थप वित्तीय सहयोग गर्छौं भन्नुभएको छ ।

खोपको विषयमा कुरा गर्नुपर्दा अमेरिकाले विदेशी मुलुकलाई दिने पाँच अर्ब डलरको करिब आठ करोड डोज खोपको विषयमा नेपालले पाउने खोप पाउने नै छ । अष्ट्राजेनिका खोपको नेपालले पाउने मात्रा राम्रोसँग पाउन सकोस भनेर हामीहरूले भनिरहेका छौँ ।

हामीहरूले नेपालको स्वास्थ्य मन्त्रालयको अनुरोधमा अमेरिकाको हेल्थ एण्ड ह्युमन रिसोसर्् सर्भिसलाई हालै एउटा अनुरोध गरिएको छ । त्यसमा हामीले बजारको प्रतिस्पर्धी मूल्यमा जोन्सन एण्ड जोन्सनको खोप खरीद गर्न चाहन्छौं भनेका छौँ । अहिले खोप खरिद गर्नको लागि अमेरिकी सरकारले स्वीकृत दिनुुपर्ने हुन्छ । त्यो विषय मैले स्टेट् डिपार्टमेन्ट्स्मा उठाएको छु ।

प्रयाश मात्रै भइरहेको छ कि परिणाम आउने अवस्था छ ?

हामीहरूको अपेक्षा के हो भने कोभ्याक्सको मोडालिटीबाटभन्दा बाहिरबाट पनि करिव ६० देखि ७० लाख डोज लिन सक्यौँ भने त्यसले हामीहरूलाई एउटा तहमा कोरानाविरुद्ध लड्न सफल बनाउँछ । मलाई के विश्वास छ भने निकट भविष्यमा नै नेपालमा अमेरिकाबाट खोप जान सक्छ । यसको लागि हामी अहोरात्र खटिरहेका पनि छौँ ।

अमेरिकी सरकारले खोपका अतिरिक्त अन्य उपकरणहरू पनि सहयोग गर्ने भनेर सिनेटमा समेत सिनेटरहरूले आवाज उठाइरहनु भएको छ, खासमा कस्ता खालका उपकरणहरू नेपाल जाँदैछन् ?

निश्चय नै अमेरिकामा रहनुभएका विभिन्न तह र तप्काका नेपाली अमेरिकनहरूले गर्नुभएको पहलकदमीको कारणले सिनेटमा आवाज उठेको छ । त्यो एउटा स्तुतीयोग्य कदम हो भन्ने मलाई लागेको छ । त्यसको लागि यस विषयमा सहभागी सम्पूर्णलाई म दूतावासको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । जहाँसम्म अमेरिकाले दिएको सहयोगको विषय छ, त्यसमा दुई तरीकाको सहयोग गइरहेको छ ।

सवैलाई जानकारी भएकै छ, एक चरणको सामाग्री युएसएआइडीमार्फत नेपाल पुगिसकेको छ । त्यो आगामी दिनमा पनि जाँदैछ । अमेरिकाले हरेक साता जस्तो त्यस्ता सामाग्री नेपालमा पठाउने गरी काम भइरहेको छ । त्यसैगरी अर्को डिपार्टमेन्ट अफ डिफेन्सबाट पनि नेपालमा स्वास्थ्यकर्मीहरूको सुरक्षाका सामानहरू धेरै गएका छन । साथै हामीहरूले अनुरोध गरेको खण्डमा स्पेशल चार्टड विमान पनि नेपाल जानसक्ने भनेर हामीलाई स्टेट एजेन्सीबाट पनि जानकारी आएको छ । यसका लागि गैरआवासीय नेपाली संघदेखि डाक्टर एशोसियसन, नर्सिङ एसोसियसन स्थानीय संघसंस्थाहरूमार्फत सहकार्य गरेर यहाँ सङ्कलन गरिएका सामाग्रीहरू नेपाल लैजान हामी आतुर छौँ । हामी अहिले महामारीको चपेटामा परेकोले एक सेकेण्ड पनि बिलम्व नगरी अमेरिकाबाट स्वास्थ्य सामाग्रीहरूदेखि खोपसम्म लैजान दूतावासले सम्पूर्ण संयन्त्र परिचालन गर्न कुनै कसर वाँकी राखेको छैन ।

अमेरिकमा रहेका नेपाली संघसंस्थाहरूको पहललाई कसरी समन्वय गर्नुहुन्छ ?

खासमा हामीहरूले विगतको पाठ सिकेर के गरेका छौँ भने यहाँबाट जाने जे सुकै सहयोग पनि स्वास्थ्य मन्त्रालयमार्फत बुझने व्यवस्था गरिएको छ । हामीले यसमा केही मापदण्ड समेत तय गरेका छौँ । हामी स्वास्थ्य सामाग्रीबाहेक अरु सामान लिदैनौँ, एक पटक प्रयोग गरिएका सामानहरू लिदैनौँ । त्यसको लागि हामीहरूले आवश्यक सामानहरूको ३२ वटा सूची दूतावासको वेभसाइटमा नै राखेका पनि छौँ । साथै हामीहरूले दाताहरूलाई के पनि भनेका छौँ भने यदि कसैले यहाँबाट दोहा या आवुधावीसम्म सामान पठाउने व्यवस्था गर्नुहुन्छ भने हामीले त्यहाँबाट नेपाल लैजाने व्यवस्था समेत मिलाएका छौँ । यस विषयमा मैले सम्मानीय प्रधनमन्त्रीज्यूसँग समेत छलफल गरिसकेको छु ।

गैर सरकारी संघसंस्थाहरूले गर्ने सङ्कलन गरेका सामाग्रीहरूको व्यवस्थापन र ढुवानीको व्यवस्थालगायत यावत काम गर्न दूतावासले निरन्तर समन्वय र सहकार्य गर्नेछ । तर कतिपय सामानहरू अमेरिकाबाट नेपालसम्म पुर्याउन सुरक्षाको दृष्टिकोणदेखि प्राविधिक कारणले समेत वभिन्न कठिनाई आएको अवस्थामा नजिकको बजारवाट खरिद गर्ने सोचाइमा समेत काम गरिरहेका छौँ । यसमा अमेरिकी सरकारी अधिकारीहरूले समेत उपयुक्त माध्यम भएको भन्दै आवश्यक परेको खण्डमा वित्तीय सहयोग समेत गर्ने आश्वासन दिनुभएको छ ।

दूतावासले यहाँ दिने सेवाको विषयमा अत्याधिक गुनासो आइरहेकोमा तपाईंले कार्यभार सम्हालेपछि के कस्ता सुधार भएका छन् ?

विगतमा के भयो त्यसमा म जान चाहन्न तर अहिले पछिल्लो तीन महिनामा हामीले विभिन्न सुधार गरेका छौँ । मैले पछिल्ला दिनहरूमा टेक्सास, शिकागोलगायतका स्थानमा भ्रमण गरेर उहाँहरूले गर्नुभएको गुनासो नोट गरेको छु । त्यो हिजो थियो अव छैन भनेर उहाँहरूलाई भनेको पनि छु । मैले यस अवधिमा पहिला बाँकी रहेका सबै काम सम्पन्न गराउने काम गरेँ । अब दूताबासबाट प्राप्त हुने सेवा सहज र सुलभ होस् भनेरै काम गर्ने हो ।