जनता टाइम्स

१२ जेष्ठ २०७८, बुधबार १७:०७

खोप ल्याउन राष्ट्रपतिबाटै पहलकदमी : चिनियाँ राष्ट्रपतिसँग पौने घण्टा टेलिफोन संवाद, भारतीय समकक्षीलाई पत्राचार


काठमाडौं, जेठ १२ । कोरोना महामारीविरुद्ध सरकारले अन्तर्राष्ट्रिय साथ खोजिरहेको बेला राष्ट्रप्रमुखको समेत देखिने सक्रियता ह्वात्तै बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एकै दिन छिमेकी मित्रराष्ट्र चीन र भारतका समकक्षीसँग यथाशिघ्र खोप उलब्ध गराउन लिखित र मौखिक आग्रह गर्नुभएको छ ।

शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति भण्डारीले आज दिउँसो चिनियाँ समकक्षी सी जिङपिङसँग करीव पौने एक घण्टा टेलिफोन संवाद गर्नुभएको छ । कोभिड महामारीको एक वर्षको बीचमा उहाँहरुबीचको यो दोस्रो टेलिफोन संवाद हो । दुई राष्ट्र प्रमुखबीच भएको उक्त संवादमा राष्ट्रपति भण्डारीले कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गर्नुभएको छ ।

जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता जनाउनु भएको छ । दुई मुलुकबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई खोप उपलब्ध गराउने चिनियाँ तदारुकताको अपेक्षा समेत व्यक्त गरेको बताइएको छ । नेपालले झन्डै २ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने र यसका लागि आवश्यक पहल भैरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आवश्यक मात्रामा खोप खरिद गरेर लगाउन पनि नेपाल तयार रहेको चिनियाँ राष्ट्रपतिसँगको टेलिफोन संवादमा जानकारी दिनुभएको शीतलनिवास स्रोतले जनताटाइम्सलाई बतायो ।

स्रोतका अनुसार नेपाल महामारीको कठिन अवस्थामा रहेको बताउँदै चीनले उपलब्ध गराउन सक्ने खोपको परिमाणबारे पनि चिनियाँ राष्ट्रपति सीसँग जिज्ञासा राख्नुभएको छ । उहाँले नेपालले चीनले उत्पादन गरेको सिनोफार्म खोपलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको उल्लेख गर्दै यसअघि उपलब्ध गराएको ८ लाख डोजका लागि चीनलाई धन्यवाद समेत दिनुभएको छ । राष्ट्रपति भण्डारीले आजै बिहान भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्राचार गर्दै खोप आपूर्तीका लागि विशेष पहल गर्न अनुरोध गर्नुभएको थियो ।