धरान, जेठ १४ । जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका एक दर्जन भन्दा बढी हतियारधारी युवाहरुले बिहीबार साँझ प्रहरीमाथि नै आक्रमण गरेका छन् । अनुहार छोपिने गरी मास्क लगाएर ६ वटा मोटरसाइकलमा आएका युवाहरुले धरान १५ बाझगरस्थित वडा समिति कार्यालयको अगाडि रहेको प्रहरी चौकीमा आक्रमण गर्दा ड्युटीमा रहेका पाँच जना प्रहरी घाइते भएका हुन ।
आफूलाई धम्की आएपछि धरान ३ बस्ने प्रशन्न लिम्बू जाहेरी दिनका लागि प्रहरी चौकी गएका थिए । त्यही बेला हतियारधारी समूह चौकी पुगेको थियो । लिम्बुलाई हतियारधारीहरुबाट बचाउन खोज्दा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए । आक्रमणबाट चौकी इन्चार्ज असई सुमन दाहालसहित अन्य प्रहरी पनि घाइते भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो ।
असई दाहालको हातमा गहिरो चोट लागेको छ । उहाँको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्