जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार ०९:३४

प्रदेश सरकार स्थापनाको तीन वर्षमा देखिने र सुनिने सरकारको रुपमा स्थापित भएको छ : मुख्यमन्त्री पोखरेल


रूपन्देही, जेठ १५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै मुख्मन्त्री पोखरेलले गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको भन्दै गणतन्त्र शासन पद्धति मात्र नभएर नागरिकको जीवन पद्धति भएको उल्लेख गर्नुभएको छ ।

सन्देशमा उहाँले वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई जनताका छोराछोरीहरूले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण लामो संघर्ष र बलिदानले सम्भव भएको बताउनु भएको छ । ‘नागरिक सार्वभौम बनेको यो दिन नेपालको राजनैतिक इतिहासको अविस्मरणीय दिन हो, यो दिन जनताको संघर्ष र बलिदानले सार्थकता पाएको दिन हो,’ पोखरेलले भन्नुभएको छ । नेपालको संविधानले गणतन्त्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका रुपमा आत्मसात गरेको भन्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत गर्न भएका प्रयासमा सबैको सार्थक सहयोग आवश्यक रहेको धारणा पनि राख्नुभएको छ ।

‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई अघि बढाउँदै लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन हामी दृढसंकल्पित छौं । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न अझै प्रेरणा प्रदान गर्नेछ, पोखरेलको शुभकामना सन्देशमा भनिएको छ । शासन प्रणाली बलियो हुँदा नै दिगो शान्ति, सुशासन र समृद्धि हासिल गर्न सकिने पनि पोखरेलको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन हुँदै जाँदा नागरिकले विकास र समृद्धिको आकांक्षा पूरा गर्दै जाने उहाँको भनाई छ । उहाँले प्रदेश सरकार स्थापनाको तीन वर्षमा देखिने र सुनिने सरकारको रुपमा स्थापित भएको र प्रदेशको योजनाबद्ध विकासको आधार तयार भएको जानकारी पनि सन्देशमा दिनुभएको छ । ‘प्रदेश सरकार विकासको मेरुदण्ड हो भन्ने नागरिकले अनुभूति गर्न पाएका छन्,’ पोखरेलले भन्नुभएको छ । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन र संक्रमितको उपचारमा तीनै तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेको मुख्यमन्त्री पोखरेलको भनाइ छ । नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिदै राज्य संयन्त्रको प्रभावकारी परिचालन भएको जानकारी पनि सन्देशमा दिइएको छ ।

‘यो संकटको बेला उत्तेजना, आक्रोश र भडकाउमा नलागी उच्च मनोबलका साथ राज्य संयन्त्रलाई सहयोग गरौं । संक्रमित र उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग गरौं । सबैको सार्थक सहयोगबाट नै महामारीलाई जित्न सकिन्छ,’ शुभकामना सन्देशमा भनिएको छ ।

प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएर कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाएको र यसका साथै जिल्ला अस्पतालहरूको स्तरोन्नतिको काम अघि बढेको र अस्पतालहरूका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट विनियोजन भई काम अघि बढेको पोखरेलले बताउनु भएको छ । अस्पतालको आवश्यकता र माग अनुसार अरु पूर्वाधार निर्माणका काम पनि अघि बढेको मुख्यमन्त्री पोखरेलको भनाई छ ।

सन्देशको पूर्णपाठ

आज गणतन्त्र दिवस । नेपाली नागरिक वास्तविक रुपमा सम्प्रभु भएको यस ऐतिहासिक दिनको सुखद अवसरमा म देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यो दिन जनताको संघर्ष र वलिदानले सार्थकता पाएको दिन हो । आज ऐतिहासिक संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र घोषणा गरी विनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन हो । म यस अवसरमा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण लामो संघर्ष र बलिदानले सम्भव भएको हो । गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको छ । नागरिक सार्वभौम बनेको यो दिन नेपालको राजनैतिक इतिहासको अविस्मरणीय दिन हो । गणतन्त्र केवल शासन पद्धती मात्र नभएर नागरिकको जीवन पद्धति हो । गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको छ । सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई अघि बढाउँदै लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन हामी दृढसंकल्पित छौं । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न अझै प्रेरणा प्रदान गर्ने छ ।

नेपालको संविधानले गणतन्त्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाका रुपमा आत्मसात गरेको छ । वास्तवमा संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत गर्न भएका प्रयासमा सबैको सार्थक सहयोग आवश्यक छ । शासन प्रणाली बलियो हुँदा नै दीगो शान्ति, सुशासन र समृद्धि हासिल गर्न सकिन्छ । यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन र संस्थागत गर्दै अघि बढिरहेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन हुँदै जाँदा नागरिकले विकास र समृद्धिको आकांक्षा पूरा गर्दै जानेछन् । प्रदेश सरकार स्थापनाको तीन वर्षमा देखिने र सुनिने सरकारको रुपमा स्थापित भएको छ । प्रदेशको योजनाबद्ध विकासको आधार तयार भएको छ । प्रदेश सरकार विकासको मेरुदण्ड हो भन्ने नागरिकले अनुभूति गर्न पाएका छन् ।

यतिबेला हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा केन्द्रीत छौं । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन र संक्रमितको उपचारमा तीनै तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिदै राज्य संयन्त्रको प्रभावकारी परिचालन भएको छ । यो संकटको बेला उत्तेजना, आक्रोश र भडकाउमा नलागी उच्च मनोबलका साथ राज्य संयन्त्रलाई सहयोग गरौं । संक्रमित र उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग गरौं । सबैको सार्थक सहयोगबाट नै महामारीलाई जित्न सकिन्छ ।

प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएर कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाएको छ । यसका साथै जिल्ला अस्पतालहरुको स्तरोन्नतीको काम अघि बढेको छ । अस्पतालहरुका अक्सिजन प्लाण्ट स्थापना गर्न बजेट विनियोजन भइ काम अघि बढेको छ । अस्पतालको आवश्यकता र माग अनुसार अरु पूर्वाधार निर्माणका काम पनि अघि बढेका छन् । कोभिड—१९ को महामारीबाट नागरिकलाई जोगाउन सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गर्दा नै परिस्थितिलाई नियन्त्रणमा राख्न संभव भएको छ । कोरोना विरुद्धको लडाईंलाई जित्न नागरिकको सजगता र सहयोगबाट संभव छ । राज्यले कोरोना विरुद्ध चालेका कदममा नागरिकले गरेको सहयोग प्रशंसनीय छ ।

कोभिड—१९ महामारी विरुद्धको संघर्षमा सबै मिलेर अघि बढ्दा नै छिट्टै विजय प्राप्त गर्नेछौं । र, यो लडाईंलाई जित्दा हामीले सुखद अनुभू ितगर्न पाउने छौ ।
अन्त्यमा,गणतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७८ जेठ १५