जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १६:०५

घनश्याम भुसाललाई शंकर पोखरेलको कडा काउन्टर


काठमाडौं, जेठ १५ । एमाले नेता तथा लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अर्का नेता घनश्याम भुसाललाई कडा काउन्टर दिनुभएको छ । पार्टी बिभाजन भइसकेको निश्कर्षसहित एमाले नेता तथा पूर्वमन्त्री भुसालले अरु कसैको रोडम्यापअनुसार नै प्रतिनिधिसभा बिघटन गरिएको र त्यसलाई बचाउन कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा लागेको भन्दै धारणा राख्नुभएपछि नेता पोखरेलले काउन्टर जवाफ दिनुभएको हो ।

भुसालले नेकपा विवाद उत्कर्षमा पुगेका बेला अब गैरदलीय (खिलराज रेग्मीजस्तै) नेतृत्वको खोजी हुनसक्ने चर्चा चलेको बताउनु भएको थियो । भुसालको सो भनाईको काउन्टर दिँद पोखरेलले प्रधानमन्त्री केपी ओलीले गर्न चाहेको चुनाव असफल पार्दा खिलराज रेग्मी जन्मने भन्दै भुसालहरु नै त्यस बाटोमा लागेको प्रष्टै संकेत गरिदिनु भएको हो । ‘संविधानतः मध्यावधिमा जाँदा ओलीको नेतृत्वलाई अस्वीकार गर्न खोज्दा हो खिलराज रेग्मी जन्मिने । अन्यथा जननिर्वाचित नेतृत्व रहन्छ नै,’ भुसाललाई जवाफ दिँदै पोखरेलले भन्नुभएको छ ।

भुसालले एक बर्षअघि नै कसैले जानकारी दिएको भन्दै फेसबुकमार्फत आफ्नो धारणा राख्नुभएको थियो । ‘एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भू–राजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर पोहोर सालको वैशाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो, जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए : नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईंहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरू पहिले नै निश्चित हुनेछन, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरूको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ,’ भुसालको भनाई थियो ।

यही भनाईको छोटकरीमै पोखरेलले कडा जवाफ दिनुभएको हो । नेता भुसाल कम्युनिष्ट आन्दोलन जोगाउनका लागि नेपाली कांग्रेसलाई सत्ता बुझाउनै पर्ने निश्कर्षसहित संबिधान भन्दा धेरै पर पुगेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वाेच्च अदालतमा पुग्नेमध्येको एक चर्चित नेता हुनुहुन्छ । दल बिभाजन नभएकै अवस्थामा आफ्नै दलका अध्यक्ष तथा प्रधानमन्त्रीबिरुद्ध भुसालसहितका नेताहरु बिपक्षी दलका नेतालाई बोकेर कुदनु भएको छ ।