जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १८:३८

सरकारले ल्यायो १६ खर्व ४७ अर्व ५७ करोडको बजेट


काठमाडौं, जेठ १५ । सरकारले आर्थिक बर्ष २०७८/०७९ का लागि १६ खर्व ४७ अर्व ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएलगत्तै प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आयोजित बिशेष कार्यक्रमबीच अर्थमन्त्री बिष्णु पौडेलले सो परिमाणको बजेट सार्वजनिक गर्नुभएको हो ।

सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको हो । सरकारले चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

चालु खर्चबाट अनुदानको रकम अलग

विगतमा संघबाट स्थानीय तथा प्रदेशमा जाने रकमलाई सरकारले यो वर्ष भने बठ्याइपूर्वक छुट्याएको छ । जसले गर्दा चालुतर्फको बजेट कम भएको देखिएको छ । आगामी आवमा सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ । चालु खर्चको रकम कम देखिनुमा तल्लो सरकारलाई जाने रकम यसमा नजोड्नु हो ।

आगामी आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ । तल्लो तहमा जाने अनुदान भने ३ खर्ब ८६ अर्ब ७१ करोड रहेको छ ।

राजस्वको लक्ष्य वृद्धि

सरकारले आगामी आवमा राजस्व संकलनको लक्ष्यमा समेत वृद्धि गरेको छ । आगामी आवमा राजस्वबाट १० खर्ब २४ अर्ब राजस्व संकलन हुने लक्ष्य सरकारले राखेको छ । यो वर्ष वैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त हुने लक्ष्य राखिएको छ । विदेशी विकास साझेदारबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ ऋण लिइने भएको छ ।

त्यसबाट पनि अपुग हुने रकम २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिइने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सरकारले चालु आवमा राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड संकलन हुने लक्ष्य राखेको छ । बजेटमा वृद्धभत्ता वृद्धिदेखि कर्मचारीको तलव वृद्धिसम्म समावेश भएको छ । कोरोना महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव न्यूनिकरण गर्दै स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको सरकारले सबैभन्दा ठूलो रकम भने शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।

स्वास्थ्यको बजेट भारी बृद्धि

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि गर्नुभएको बजेट भाषणमा यसपटक स्वास्थ्य क्षेत्रमा ३३ अर्व बढेको छ । मन्त्री पौडेलले पेस गर्नुभएको आयव्यय विवरणमा स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजित भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उहाँले गर्नुभएको बजेट भाषणमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेको छ । यस वर्षको बजेट भाषणमा स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको छ ।

बृद्धभत्ता बढ्यो

सरकारले बृद्धभत्ता बढाएको छ । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै बृद्ध भत्ता मासिक ४ हजार पुर्याइएको घोषणा गर्नुभएको हो । अर्थमन्त्री पौडेलले सवै सामाजिक सुरक्षाभत्तामा ३३ प्रतिशत बृद्धि गरी बृद्धभत्ता मासिक ४ हजार पुरयाइएको जानकारी दिनुभयो ।