काठमाडौं, जेठ १६ । कोरोना भाइरसविरूद्ध खोप लगाएपछि शरीरमा विकास हुने प्रतिरोधक क्षमता कम्तिमा एक वर्ष रहने र यो समयक्रममा अझ बलियो हुँदै जाने भएकाले सम्भवत: जीवनभर पनि रहन सक्ने दुईवटा नयाँ अध्ययनले देखाएका छन्।
अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले दुइटा वैज्ञानिक जर्नलमा छापिएका अनुसन्धान प्रतिवेदन उद्धृत गर्दै भनेको छ, ‘एकचोटि कोरोना लागेर निको भइसकेका व्यक्तिले पहिलो खोप लगाएपछि दोस्रो डोज नलिए पनि हुने अध्ययनले देखाएको छ। एकचोटि पनि संक्रमण नभएको व्यक्तिले भने दुवै खोप लिनु जरूरी छ।’
न्यूयोर्क टाइम्सका अनुसार कोरोना खोपले रोगसँग लड्न मद्दत गर्छ कि गर्दैन वा यसले कम समय मात्र काम गर्छ कि भन्ने भ्रम संसारभरि कायम रहेका बेला पछिल्ला अध्ययनहरूको निष्कर्षले सबैलाई खोप लगाउन प्रोत्साहित गर्ने वैज्ञानिकहरूको विश्वास छ। ‘कहिलेकाहीँ संक्रमण भइसकेको व्यक्तिमा शरीरले पर्याप्त प्रतिरोधक क्षमता विकास नगरेको हुनसक्छ,’ न्यूयोर्क टाइम्स लेख्छ, ‘त्यस्तो अवस्थामा दुवै डोज खोप लिनुपर्नेछ।’ यी दुवै अध्ययन करिब एक वर्षअघि कोरोना संक्रमण भएका व्यक्तिहरूमाथि गरिएका हुन्। दुईमध्ये एउटा अध्ययन–प्रतिवेदन अन्तर्राष्ट्रिय जर्नल ‘नेचर’ मा गत मंगलबार प्रकाशित भएको थियो। नेचरले नयाँ–नयाँ वैज्ञानिक शोधपत्रहरू सार्वजनिक गर्छ।
यो रिपोर्टअनुसार कोरोना लागेर निको भएका व्यक्तिमा हड्डीको भित्री तह ण्बोन म्यारो) मा रहेका कोषहरूबाट भाइरससँग लड्ने एन्टिबडी विकास हुन्छ। शरीरलाई भाइरससँग लड्न आवश्यक परेका बेला यस्तो एन्टिबडी विकास हुने उक्त रिपोर्टमा उल्लेख छ। यस्तै अर्को प्रतिवेदन ‘बायोआर–एक्सआइभी’ नामक अनलाइनमा प्रकाशित भएको थियो। जैविक विषयका शोध सामग्रीहरू सार्वजनिक गर्ने यो अनलाइनको रिपोर्टअनुसार कोरोनासँग लड्ने एन्टिबडी संक्रमण भएको कम्तिमा १२ महिनासम्म सक्रिय रहन्छ। यो अवधिमा उक्त एन्टिबडी थप बलियो हुँदै जाने रिपोर्टमा उल्लेख छ।
शरीरमा दुई तरिकाले एन्टिबडी विकास हुन्छ। एउटा, कोरोना भाइरसको संक्रमणपछि र अर्को, कोरोनाविरुद्ध खोप लगाएपछि। दुवै अवस्थामा एन्टिबडी लामो समय जीवित र सक्रिय रहन्छ भन्ने यी अध्ययनले पुष्टि गरेको अमेरिकाको पेन्सेलभेनिया विश्वविद्यालयका इम्युनोलोजिस्ट (प्रतिरोधक क्षमता विशेषज्ञ) डा. स्कट हेन्स्लेले बताउनु भएको छ ।
न्यूयोर्कस्थित रेकफेलर विश्वविद्यालयका इम्युनोलोजिस्ट माइकल नुसिन्जवेगी त यो पनि भन्छन्, ‘कोरोना संक्रमणपछि हाम्रो शरीरमा जुन एन्टिबडी विकास हुन्छ, त्यो एन्टिबडी खोपको असरले अझ बलियो भएर आउँछ। यस्तो बलियो एन्टिबडी कोरोना भाइरसका विभिन्न प्रकारसँग लड्न सक्षम हुन्छ। त्यसैले, एकचोटि संक्रमण भएर निको भइसकेको व्यक्तिले दोस्रो डोज खोप नलगाए पनि फरक पर्दैन।’
उहाँका अनुसार कोरोना संक्रमण पनि भएको र खोप पनि लगाएको व्यक्तिमा एन्टिबडीले राम्रो असर देखाएको छ। त्यस्तो व्यक्तिमा एन्टिबडी क्रमिक रूपले विकास हुँदै र थप बलियो पनि हुँदै गएको उहाँको भनाई छ । अध्ययनअनुसार कोरोना संक्रमण भइसकेपछि शरीरले ठूलो परिमाणमा एन्टिबडी विकास गर्छ। जब मान्छे संक्रमणबाट निको हुन्छ, तब एन्टिबडीका केही कोष हड्डीको भित्री तहमा गएर बसेका हुन्छन्। ती कोषले हड्डीको भित्री तहबाटै थोरै परिमाणका एन्टिबडी लगातार उत्पादन गरिरहन्छन्।
यी कोषले कसरी काम गर्छन् भनेर अनुसन्धान गर्न सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालयका अली एलेबेडीको नेतृत्वमा अनुसन्धाताहरूले तीन महिना लगाएर ७७ जना व्यक्तिको रगत विश्लेषण गरेका थिए। कोरोना संक्रमण भएको अर्को महिनाबाट उनीहरूको रगत जाँच्न थालिएको थियो। ती ७७ जनामध्ये जम्मा ६ जना मात्र कोभिड–१९ का कारण अस्पताल भर्ना हुनुपरेको थियो, बाँकीलाई सामान्य लक्षण देखिएको थियो।
यी व्यक्तिको शरीरमा एन्टिबडीको मात्रा संक्रमणको चार महिनापछि तीव्र गतिमा घट्न थालेको थियो भने त्यसपछिका महिना विस्तारै घटेको थियो। यो नतिजा अन्य अध्ययनको निष्कर्षसँग मिल्दोजुल्दो रहेको वैज्ञानिकहरूले बताएका छन्। खोपको एक डोज पनि नलगाएका व्यक्तिमा भने संक्रमणसँग लड्ने प्रतिरोधक क्षमता निकै कम पाइएको अनुसन्धानको निष्कर्ष छ।
प्रतिक्रिया दिनुहोस्