जनता टाइम्स

१६ जेष्ठ २०७८, आईतवार १२:२९

असल जनप्रतिनिधि, जस्ले गरे पारिश्रमिकको सबै रकम अक्सिजन प्लान्टमा सहयोग


झापा, जेठ १६ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफूले नगरपालिकाबाट पारिश्रमिक तथा भत्तावापत प्राप्त गरेको १० लाख रुपैयाँ अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्नुभएको छ । कोभिड–१९ को महामारीमा अक्सिजनको माग उच्च भइरहेको हुँदा मेयर पोखरेलले सञ्चालित अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न उक्त सहयोग दिनुभएको हो । मेयर पोखरेलले १० लाख रुपैयाँको चेक नगरपालिकालाई हस्तान्तरण गर्नुभएको प्रमुख प्रशासकीय मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

विकासप्रेमी नगरप्रमुखको पहिचान बनाउनुभएका पोखरेलले निर्वाचित भएलगत्तै आफूले पारिश्रमिक र भत्तावापत पाउने सबै सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा गर्नुभएको थियो । नगरमा हाल १५ शैय्याको नगरस्तरीय अस्पताल सञ्चालनमा छ । नगरपालिकाले दुई करोड रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी काम अघि बढाएको छ । यसका लागि नगरको चालु बजेटबाट एक करोडसम्म उपयोग गरिने र स्थानीय सहयोगी मनहरुबाट एक करोडको आश्वासन प्राप्त भएको उहाँले बताउनुभयो । अस्पताललाई ५० शैय्यामा विस्तार गर्नेसमेत नगरको योजना छ ।

‘कोरोना महामारीबाट नागरिक एकदमै ठूलो पीडामा छन, अहिले बरु सडक पक्की गर्दैनौँ, स्वास्थ्य सेवालाई भरपर्दो बनाउँछौं,’ प्रमुख पोखरेलले भन्नुभयो । अप्ठेरो बेलामा नागरिकलाई भोक र रोगले मर्न नदिने आफ्नो उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले पहिलो वर्ष यही सुविधावापत पाएको तीन लाख ४० हजार रुपैयाँ नगरका श्रमिक वर्गको सार्वजनिक हित कोषमा जम्मा गर्नुभएको थियो । आर्थिक वर्ष २०७४/७५ मा गाडी खरिद शीर्षकमा नगरपालिकाले छुट्याएको ४० लाख बजेट नगरप्रमुखले सडक निर्माणमा लगाउनुभएको थियो । विसं २०७० मा नगरपालिकाले किनेको गाडीले नै काम चलिरहेको जनाउँदै नगरप्रमुख पोखरेलले नयाँ गाडी किन्न आवश्यक नरहेको बताउनुभएको थियो ।

आव २०७६/७७ मा नगरप्रमुख चढ्ने छुट्टै सवारी साधन खरिदका लागि नगरपालिकाले फेरि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । नगरप्रमुख पोखरेलले गाडी किन्न अस्वीकार गर्दै सो रकम नगरपालिका आफैँले स्थापना गरेको प्राविधिक कलेजलाई प्रदान गर्नुभएको थियो । नगरपालिकाले सो रकम खर्च गरेर वडा नं ७ मा कनकाई पोलिटेक्निक इन्स्टिच्युट नामक प्राविधिक कलेज सञ्चालनमा ल्याएको छ । कलेजमा सिभिल इञ्जीनियरिङ, जियोमेट्रिकक इञ्जीनियरिङ र इनफर्मेशन टेक्नोलोजीको पढाइ भइरहेको छ ।

साइकलप्रेमी पोखरेल कार्यालयमा साइकल चढेर जाने गर्नुहुन्छ । उहाँले पारिश्रमिकको केही रकम नगरका सडकमा साइकल लेन बनाउन खर्च गर्ने घोषणा गर्नुभएको थियो तर गत वर्षदेखि कोरोना महामारी बढेपछि साइकल लेन परियोजना अधुरो छ । प्रमुख पोखरेलको यस कामलाई नगरवासीले प्रसंशा गरेका छन ।