काठमाडौं, जेठ २१। जनता समाजवादीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै भारतीय मिडियालाई अन्तर्वार्ता दिँदा जानाजान नेपालको पुरानै नक्सा देखाएर दिएको पाइएको छ।
भारतीय संचारमाध्यम द प्रिन्ट को युट्युव च्यानलमा ‘द प्रिन्ट डिवेट’ कार्यक्रममा मे ३० तारिक अर्थात् ५ दिनअघि अन्तर्वार्ता दिँदा डा.भट्टराईले आफ्नो पछाडि नेपालको नक्सा प्रयोग गरेको देखिएको छ। साधारणतया अरु अन्तर्वार्ताहरुमा उहाँको यस्तो नक्सा प्रयोग भएको पाइएको छैन। तर, यो अन्तर्वार्तामा उहाँले आफ्नो पछाडि देखिने गरी नेपालको नक्सा र विश्वको नक्सा प्रयोग गर्नुभएको छ। यो नक्सा प्रयोग गर्नुमा भारतीय नेतृत्ववर्गलाई पुरानै नक्सामा आफू यथावत रहेको सन्देश दिन खोजेको सहजै देखिन्छ।
नेपालको प्रधानमन्त्री भइसकेको व्यक्तिले जीवनभर नेपालकै प्रतिनिधित्व गर्नुपर्ने हुन्छ सार्वजानिक समारोहहरुमा। आन्तरिक राजनीतिमा जुन अडान वा धारणा राखे पनि अन्तर्राष्ट्रिय मञ्चहरुमा पूर्वप्रधानमन्त्रीको उपस्थिति भनेको देशकै प्रतिनिधित्व हो।
यो अन्तर्वार्तामा डा. भट्टराईले नक्साको प्रयोगद्वारा दिन खोजेको सन्देश के हो ? भन्ने यकिन छ तर उनको यस्तो कार्यले नेपालीजनको हृदयमा कति चोट पुग्छ ? भन्ने कुराको ख्याल गरेको भने पाइएन।
तत्कालका लागि उहाँको राजनीतिक लाइनभन्दा भिन्न भारतीय गतिविधि, दवाव र प्रभाव नेपालमा देखिएको अवस्थामा यो नक्साको प्रयोगबाट भारतीय संस्थापन पक्षलाई दिने सन्देशमा उहाँ बढी नै केन्द्रित हुन खोजेको सहजै अनुमान लगाउन सकिन्छ।
तर, आफूसमेत सहभागी भएर पारित गरेको नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नयाँ नक्सालाई पुरै बेवास्ता गरेर पुरानै नक्सामा भारतीय मिडियामा देखा पर्नु सामान्य अवस्था मान्न सकिंँदैन। कोठामा पुरानै नक्सा रहेछ, त्यही प्रयोग भएछ तर जानाजान होइन भन्ने स्पष्टिकरणको अर्थ हुँदैन भन्ने कुरा डा.बाबुराम भट्टराईजस्ता चतुर खेलाडीले नबुझ्ने कुरा हुँदैन। त्यसमा पनि भिडियो अन्तर्वार्ता दिँदा के के दृश्य देखिन्छन् भन्ने कुरा दिनुअघि नै सोचिने विषय हो। नेपालको नक्सा भन्दा तल अर्को नक्सा झुण्ड्याइएको छ विश्वको नक्सा। स्पष्ट छ नेपालको नयाँ नक्साको अपमान गरेर उनले भारतलाई खुसी पार्न खोजेको प्रष्ट बुझन सकिन्छ ।
पहिला अरुमाथि प्रहार गर्ने र अन्त्यमा उहाँलाई पनि प्रहार गर्ने भारतीय रणनीति हाल कार्यान्वयनमा रहेकै बेला डा. भट्टराईले भारतीय संस्थापनको मन शितल हुने गरी पुरानै नक्सा प्रयोग गरेर अन्तर्वार्ता दिनुलाई अर्थपूर्ण मानिएको छ। अन्तर्वार्ताका क्रममा सीमा विवादका बारेमा सोधिएको प्रश्नमा भने उहाँले आफूले यसबारे टिप्पणी गर्न नचाहाने बताउनुभएको छ तर मुखले टिप्पणी गर्नै नपर्ने गरी आफ्नो साथमा नक्सै राखेर सन्देश दिएपछि अरु टिप्प्णीको अर्थ नरहनु स्वाभाविक पनि हो।














प्रतिक्रिया दिनुहोस्