जनता टाइम्स

२४ जेष्ठ २०७८, सोमबार २०:४८

गुणस्तरहीन काम : सामान्य वर्षाले भत्कियो खेलमैदान


तनहुँ, जेठ २४

तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिकास्थित खेलमैदानमा निर्माण गरिएको पर्खाल भत्किएको छ । गुणस्तरहिन काम गरेको असरका कारण आइतबार परेको वर्षाले पर्खाल भत्किएको हो । नगरपालिकाले विसं २०७६ सालमा सम्झौता गरी उपभोक्ता समितिमार्फत् उक्त काम गराएको थियो । कूल रु ५० लाखको योजनामध्ये रु दश लाख अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

नगरपालिकाले सम्झौताकै वर्ष उपभोक्ता समितिलाई रु १३ लाख २० हजार पेश्की दिएको थियो । उपभोक्ता समितिले पर्खाल निर्माणको काम एकदमै गुणस्तरहिन गरेकोले कमजोरी लुकाउन केही समय अगाडि मात्रै पर्खालमा प्लाष्टर समेत गरेको थियो । नगरपालिकाले भने सम्झौता भएपछि उपभोक्ता समितिले प्राविधिकसँग समन्वय नगरी काम गरेको बताएको छ । उपभोक्ता समितिले गरेको काम प्राविधिक हिसाबले नभएपछि नगरपालिकाले विसं २०७७ साउन २१ गते सम्झौता रद्द गरेको थियो ।

उपभोक्ता समितिमार्फत् रु १७ लाखको काम भएको मूल्याङ्कनपछि नगरपालिकाले आफ्नो दायित्वको ८० प्रतिशत रकम फछ्र्यौट गरेको योजना कार्यान्वयन उपशाखाका नासु भेषराज तिवारीले जानकारी दिनुभयो । ‘उपभोक्ता समितिले पेश्कीबापत् लगेको रकममात्रै फछ्र्यौट भएको छ, थप रकम भुक्तानी भएको छैन,’ उहाँले भन्नुभयो । उपभोक्ता समितिमार्फत् भएका कामको नगरपालिकाका इन्जिनियरले मूल्याङ्कन गर्न नसक्ने भएपछि सम्झौता रद्द गरिएको नगरपालिकाले जनाएको छ । बिममाथिबाट पिल्लर उठेको हुनाले त्यो भन्दा माथि थप संरचना निर्माण गर्न नमिल्ने प्राविधिकले ठहर गरेका थिए ।

‘इन्जिनियरिङ पाटोबाट जति मूल्याङ्कन गर्न सकिन्थ्यो त्यतिमात्रै मूल्याङ्कन भएपछि सम्झौता रद्द भइसकेको छ,’ तिवारीले भन्नुभयो । व्यास नगरपालिकाका योजना शाखा प्रमुख वरिष्ठ इन्जिनियर डा। राजु पौडेलले आफू घरायसी कामका कारण जिल्ला बाहिर रहेकाले नगरपालिकाका अर्का इन्जिनियरलाई यसबारेमा बुझ्न पठाएको जानकारी दिनुभयो । उपभोक्ता समितिका अध्यक्ष कुमार श्रेष्ठले भने पर्खाल भत्किएको विषयमा आफूलाई जानकारी नभएको र उक्त काम पहिल्यै आफूहरुले छाडिसकेको प्रतिक्रिया दिनुभयो ।