जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार ०७:४३

नेपाल र मौरिससबीच श्रम संझौतामा हस्ताक्षर : शून्य लागतमा कामदार, मौरिसस नागरिकसरह न्युनतम तलब


काठमाडौं, जेठ २९

नेपाल र अफ्रिकी मुलुक मौरिससबीच द्विपक्षीय श्रम सम्झौता भएको छ । श्रममन्त्री गोकर्ण विष्ट र मौरिससका समकक्षी सुदेश एस क्यालिचनबीच सोमबार जेनेभामा समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवै जना अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवाषिर्कीमा सहभागी हुन जेनेभा पुगेको मौकामा सम्झौता गरिएको छ ।

श्रममन्त्री विष्टका अनुसार मौरिसससँग रोजगारदाता पे मोडलका आधारमा श्रम संझौता भएको छ । मन्त्री बिष्टले बिनालागतमा श्रमिक लैजान र सबै प्रकारको अनियमित भर्ना, बाध्यकारी श्रम र मानव बेचबिखनजस्ता जघन्य अपराध नियन्त्रण गर्न दुवै देश सहमत भएका छन् ।

श्रमिक भर्नाबापत म्यानपावर कम्पनीलाई मौरिससका रोजगारदाताले नै सेवाशुल्क भुक्तानी गर्ने समझदारीपत्रमा उल्लेख छ । सेवाशुल्क रोजगारदाता र म्यानपावर कम्पनीबीचको सहमतिमा तोकिनेछ । मौरिससले कामदार आपूर्ति गर्न ६३ वटा म्यानपावर कम्पनीलाई अनुमति दिएको छ । नेपालका म्यानपावरले सिधै रोजगारदाता वा मौरिससका म्यानपावरसँग सम्पर्क गरी श्रमिक पठाउन सक्नेछन् ।

समझदारीमा नेपालीलाई स्थानीयले पाउनेभन्दा कम ज्याला, सेवासुविधा दिन नपाइने उल्लेख छ । मौरिससको श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्रालयका अनुसार पदका आधारमा न्यूनतम तलब तोकिएको छ । श्रमिकको न्यूनतम तलब सुविधा दिइएपछि प्रत्येक वर्ष बढदै जाने सरकारी सूचना छ । न्यूनतम तलब ९ हजार (झन्डै २८ हजार रुपैयाँ) बाट सुरु भएको छ । हरेक वर्षको सेवा अवधिका लागि एक महिनाबराबरको उपदान दिइनेछ ।

कम्पनी बन्द भई बेरोजगार भएमा श्रमिकले वैकल्पिक रोजगारी खोज्न सक्ने, ज्याला, ओभरटाइम भत्ता, काम गर्ने वातावरण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने, मौरिससका रोजगारदाता र नेपालका रोजगार व्यवसायीबीचको प्रत्यक्ष समन्वयमा कामदार पठाइने, महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपाय सुनिश्चित गरिने उल्लेख छ । न्यायिक उपचारका लागि वकिल राख्ने र आवश्यक अनुवाद गर्न लाग्ने लागतसहित निःशुल्क कानुनी उपचारको हक स्थापित गरिएको छ । विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा कामदारले अस्थायी रोजगारीका लागि भिसा आवेदन गर्ने पाउनेछन् ।

यस्तै मौरिससको विमानस्थल पुगेको ६ घण्टाभित्रै रोजगारदाता वा प्रतिनिधिले कार्यस्थलमा लिएर जानुपर्ने व्यवस्था गरिएको छ । मौरिससको हावापानी र धर्म, संस्कृति नेपाली श्रमिकका लागि अनुकूल रहेको छ । हिन्द महासागरको टापु रहेको मौरिससको क्षेत्रफल २ हजार ४० वर्गकिलोमिटर छ । यसको लम्बाइ ६५ किमि र चौडाइ ४५ किमि छ । अन्तर्राष्ट्रिय आप्रवासन मौरिससका आदिवासी छैनन् । मध्य आम्दानीको स्रोत हुने मौरिसस अस्ट्रेलिया, क्यानडा, साउथ अफ्रिका, ब्रिटेन र फ्रान्सका आप्रवासीहरूको देश हो । नेपालबाट झन्डै ५ सय कामदार पुगिसकेका छन् । २५ हजार डलर प्रतिव्यक्ति आय भएको मौरिसससँग नेपालले पहिलो बिप्पा गरेको थियो ।