जनता टाइम्स

२७ जेष्ठ २०७८, बिहीबार १८:४२

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत : ढल्यो गण्डकी सरकार


पोखरा, जेठ २७

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाउन असफल हुनुभएको छ । प्रदेशसभामा आज विश्वासको मत लिन असफल भएपछि संविधानतः गुरुङको मुख्यमन्त्री पद मुक्त भएको हो । प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन सकेन । प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरे ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावउपरको मतविभाजनमा ५८ जना उपस्थित रहनुभएको थियो भने प्रदेश सरकारका युवामन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने अनुपस्थित रहनुभएको थियो । त्यस्तै सभामुख नेत्रनाथ अधिकारीले मतदान गर्नुभएन । प्रदेशसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

यसअघि प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ प्रावधान बमोजिम प्रदेशसभाको विश्वास पाउ भन्दै प्रस्ताव पेश गरेपनि मत भने नपाउनुभएको हो ।

संविधानको धारा १६८ उपधारा ३ अनुसार बनेको गुरुङ सरकारले विश्वासको मत (बहुमत) प्राप्त गर्न नसकेपछि उपधारा ५ आकृष्ट भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ गण्डकीमा २०७४ फागुन ४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।