पोखरा, जेठ २८ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर बहुमत दाबी गरेर सरकार गठनका लागि आउन दलहरुलाई आह्वान गर्नुभएको छ । संविधानको धारा १६८ को उपधार (५) अनुसार सरकार गठनका लागि बहुमत दाबी गरेर आउन प्रदेश प्रमुख पौडेलले आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत लिन असफल भएपछि प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो । ६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले गुरुङलाई विश्वासको मत दिएका छन् । अविश्वासमा ३० र तटस्थमा १ मत खसेको छ । एक जना सांसद अनुपस्थित रहेका छन । तटस्थ रहने जनमोर्चाका कृष्ण थापा हुनुहुन्छ । कांग्रेस नेतृत्वको गठबन्धन बनाएर ४ दल गुरुङ सरकार ढाल्न लागेका थिए । कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर यो गठबन्धनले अविश्वास प्रस्तावसमेत ल्याएको थियो । गत बैशाख २ गते अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश भएको थियो । तर अविश्वास प्रस्तावमा मतदान हुन पाएको थिएन ।
बैशाख १५ गते बैठकमा मतदान हुने कार्यसूची भएपनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो । पछि कार्यव्यवस्थाको बैठकले २७ वैशाखमा अविश्वासमा मतदान हुने निर्णय गरेको थिया । मतदान हुनु एक दिन अघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुभएको थियो ।
प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमत दाबी गरेर आउन विपक्षीलाई समय दिएपनि उनीहरु जान सकेनन । र, ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा गुरुङ नै दोहोरिनु भएको थियो । वैशाख २९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएका गुरुङले १ महिनामा विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यताका कारण बिहीवार विश्वासको माग्नुभएको थियो । तर उहाँले मत पाउन सक्नुभएन ।













प्रतिक्रिया दिनुहोस्