जनता टाइम्स

३० जेष्ठ २०७८, आईतवार १६:३०

ज्ञानेन्द्र शाहीको समुहमाथि कस्ले गर्यो आक्रमण ? यस्तो छ प्रहरी अनुसन्धानमा देखिएको तथ्य


सुर्खेत, जेठ ३० । सामाजिक सञ्जालमा भाइरल भएको ज्ञानेन्द्र शाहीको समूहमाथि कुटपिट भएको भिडिओपछि कस्ले आक्रमण गर्यो भन्ने प्रश्न जताततै उठेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ करे खोलामा शाहीसहितको समूहमाथि शुक्रबार राती ११ बजेतिर कुटपिट भएको हो ।

कुटपिटबाट शाहीका समूहका केही व्यक्तिको टाउकोमा चोट लागेको छ । भिडिओमा शाही रूँदै आफ्ना साथीहरूलाई अंगालो मारेको देखिएको छ भने अस्पताल लैजान भनिरहेको सुनिन्छ । यो घटनामा शाही समूहका पाँच जना घाइते छन । शाहीले आफूहरुमाथि मार्ने नियतका साथ आक्रमण भएको बताउनु भएको छ भने स्थानीयले शाहीको समुहले मापसे सेवन गरी होहल्ला गरेपछि सम्झाउने क्रममा सो घटना भएको दावी गरेका छन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले घटना भएको तर शाहीको समुह गम्भीर घाइते नभएको र सबैको उपचार भइसकेको जानकारी दिनुभएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुजन सारू मगर, ललित गहा, टंक सलामी, घनश्याम सलामी र नवराज गिरी रहेका छन । प्रहरीका अनुसार उनीहरू पाँचै जना घर तथा बाटो बनाउने कामदार हुन । शाही समुहले आक्रमण भनेपनि प्रहरीले सो घटनालाई झडप भनेको छ ।

‘यो सामान्य झगडा हो । उहाँहरूले यसलाई ठूलो बनाउनु भयो, पक्राउ परेकाहरू सबै घर÷बाटो बनाउने मजदुर हुन । कुनै राजनीतिक पृष्ठभूमिका देखिँदैन । प्रतिशोध लिन, ज्यान मार्नलाई सुनियोजित तरिकाले घटना घटाएकोजस्तो पनि देखिँदैन,’ एसपी भट्टले भन्नुभयो । प्रहरीका अनुसार ज्ञानेन्द्र शाहीको समूह खाना खाएर निस्किएका थिए । प्रहरीका अनुसार केहीले मादक पदार्थ सेवन गरेका थिए । प्रहरीका अनुसार शाहीको समुह कुखुरा पालेको ठाउँमा बसेको र सोही ठाउँमा कुखुरा काटेर खाएर करिब ११ बजेको आसपासमा गाडी र मोटरसाइकलमा फकिएका थिए ।

‘त्यो बेला बाटोमा स्थानीय युवा पनि हिँडिरहेका रहेछन, ती युवामध्ये केहीले मापसे गरेको देखिन्छ। मोटरसाइकलमा सवार व्यक्तिले अपशब्द बोलेपछि स्थानीय युवाले मोटरसाइकल रोकेर के बोलेको भनेर सोधेछन । त्यही क्रममा मोटरसाइकलमा सवार व्यक्तिले स्थानीय युवा नवराज गिरीमाथि हेलमेटले प्रहार गरेको देखिन्छ,’ घटनाको कारण खोल्दै एसपी भट्टले भन्नुभयो । सो घटनापछि स्थानीय युवा र ज्ञानेन्द्र शाही समूहबीच झडप भएको थियो । झडप भएपछि उक्त ठाउँमा स्थानीय बासिन्दाहरू पनि भेला भएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार सो घटनाको केहीबेरमा पछिपछि आइरहेको ज्ञानेन्द्र शाहीको गाडी पनि स्थानीयले रोकेका थिए । लगत्तै स्थानीय युवाले गाडीका चालकमाथि कुटपिट गरेका थिए । प्रहरीले करिब साढे ११ बजे शाही समूहको उद्धार गरेको एसपी भट्टले जानकारी दिनुभयो ।