जनता टाइम्स

३१ जेष्ठ २०७८, सोमबार १२:२९

नेपालमा विदेशी हस्तक्षेप छैन, आफू बन्न नपाएपछि पूर्वप्रधानमन्त्री छटपटाए : मन्त्री कर्ण


काठमाडौं, जेठ ३१। भूमि सुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले नेपालमा कुनै विदेशीको हस्तक्षेप नभएको बताउनुभएको छ । पाँचपुर्व प्रधानमन्त्रीले जारी गरेको विज्ञप्ती गलत रहेको भन्दै मन्त्री कर्णले आपत्ति पनि जनाउनु भयो । आफु एकपटक प्रधानमन्त्री भईसकेपछि जहिल्यै प्रधानमन्त्रीको सपना देख्नेहरुकै कारण मुलुक समस्या छ,’ मन्त्री कर्णले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताउनु भएको थियो । विज्ञप्तीमा भनिएको थियो,‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौं ।’ पूर्वप्रधानमन्त्रीहरुको उक्त आरोप आफू प्रधानमन्त्री बन्न नपाएको छटपटी मात्रै भएको मन्त्री कर्णको भनाइ छ ।

उठ्दा प्रधानमन्त्रीको सपना देख्यो, बस्दा प्रधानमन्त्रीको सपना देख्यो, कसरी हुन्छ सरकार ढाल्न पाए हुन्थ्यो भन्ने सोच भएकाले नै समस्या बढेको हो,’ मन्त्री कर्णले भन्नुभयो । अहिले नेपालमा कुनै विदेशी हस्तक्षेप छैन । पाँचजना पूर्वप्रधानमन्त्री देशका सम्पुर्ण जनताको प्रतिनिधी पनि होइन, आफु जान नपाएको छटपटी जनताले राम्रोसँग बुझेको उहाँले बताउनु भयो ।