जनता टाइम्स

२ असार २०७८, बुधबार १२:४८

विपद् प्रतिकार्य योजना पारित, यस्तो भयो निर्णय


काठमाडौं, असार २

सरकारले सबै मन्त्रालयलाई परिचालित गरेर बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले बताउनुभयो । कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।

‘कार्ययोजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिना लगाएर बनाएको विपत प्रतिकार्ययोजनालाई आजको बैठकले पारित गरेको छ,’ पोखरेलले भन्नुभयो । बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी-पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । त्यहाँ खाद्यसामग्री, टेन्टलगायतका अरु आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची बजारमा अवस्थित एक होटलमा फसेका चार जनालाई तत्कालै हेलिकप्टरबाट उद्धार गरिएको भन्दै पोखरेलले त्यो आफूहरुले ‘रियल टाइम बेसिस’मा काम गर्दै आएको उदाहरण भएको बताउनुभयो । यसैगरी नुवाकोटको दुप्चेश्वरमा ठूलो ढुंगा भिरमा अड्किएको र त्यसले समुदायमा क्षति पुर्‍याउन सक्ने भएकाले त्यसलाई व्यवस्थापन गर्ने निर्णय पनि समितिको बैठकले गरेको छ।