शरद शर्मा/हेलम्बु । हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ पर्यो कि डर लाग्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ र ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उहाँको मन आत्तिन्छ, फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पुर्याउँछ भन्ने चिन्ता बढछ । ‘मडारिएको कालो बादल देखिएपछि डर लाग्न थाल्छ, फेरि पनि पानी पर्ने र खोला भरिने हो कि भनेर,’ ज्योतिले भन्नुभयो, ‘तीन दिन भयो, फेरि पनि खोला बढेर बगाउँछ भनेर सुत्न पाएका छैनौं ।’
यही असार २ गते मेलम्ची खोलामा बाढी आउँदा उहाँको घर र जग्गा सबै बगायो । साँझ ७ बजे खोलामा ठूलो आवाज आयो र घरबाहिर निस्केर हेर्दा ठूलो पानी आइरहेको उहाँले देख्नुभयो । त्यो खोला छिनभरिमा नै उर्लियो र राति १२ बजे उहाँको घरजग्गा सबै बगायो । ‘त्यो दिन हामी घरबाट चाँडै निस्केर मात्र बाँच्न पायौं, उहाँले भन्नुभयो, ‘खोलामा ठूला आवाज र जमीन थरथर काम्न थालेपछि हामी के भयो भनेर बाहिर निस्कियौं ।’ असार २ गते बुधबार मेलम्ची नदीमा आएको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका–१ को तिमु र चिउरी खर्क, वडा नं २ क्युल, वडा नं ६ चालिसेमा बढी क्षति पुर्याएको छ । पचपन्न वर्षीया ज्योति उक्त ठाउँमा बसेको धेरै भए पनि यसरी खोलामा ढुङ्गाको आवाज आउँदै बाढी आएको र जमीन थर्किएको कहिल्यै देख्नुभएको थिएन ।
सोही ठाउँका मीनमार तामाङको पनि बगरमा रहेको घर बाढीले लग्यो । घरमा रहेको सबै बगाएपछि सपरिवार उहाँ डाँडामा त्रिपालमा बस्नुभएको छ । खोला एक्कासी बढेर आउँदा आफू र छोराछोरीलाई बचाउन लाग्दा घरको केही नै जोगाउन उहाँले पाउनुभएन । ‘हामी आफ्नो ज्यान बचाउनका लागि माथि डाँडातिर उक्ल्यौं, हेर्दाहेर्दै खोलाले घर बगायो,’ तामाङले भन्नुभयो, ‘आफूसँग लगाएको कपडाबाहेक घरबाट अरू केही ल्याउन पाएनौं, घरमा रहेको सबै खोलाले बगायो ।’
सोही ठाउँका विष्णुप्रताप खड्काले पनि उहाँहरुकै जस्तो नियती भोग्नुपरेको छ । ‘बत्ती गयो, खोलो करायो, गाउँका छरछिमेकी जम्मा भयौँ, खोला हेर्यांै मात्र केही गर्न सकेनौं,’ खडकाले भन्नुभयो, ‘भोलिपल्ट हेर्दा केही थिएन ।’ त्यस दिन उहाँ भाउजूसँगै भाइको माछा फार्ममा जानुभएको थियो । पानी बढेपछि उहाँ माछा फार्मदेखि भाग्न सफल भए पनि भाउजूलाई खोलाले बगायो ।
उहाँसहित पाँच दाजुभाइको ५० रोपनी जग्गा बगर र भाइको माछा फार्म पनि खोलाले खायो । स्थानीय भुवन दङ्गालका अनुसार जेठ मसान्तको दिनदेखि खोलाको बहाव बढिरहेको र असार २ गते ठूलो बहाव आएको हो । ‘खोला बढेको दिन भूकम्पभन्दा बढी हल्लायो, अब त बाँचिन्न भन्ने लागेको थियो, हामी त बाँच्यौँ, तर घर बगाएर लग्यो,’ उहाँले भन्नुभयो । उहाँ घर बगाएपछि डाँडामा त्रिपालमा सुत्दै आउनुभएको छ । दिउँसो भने आफ्नो बगाएको घर कस्तो छ भनेर हेर्न आउने गर्नुहुन्छ । उहाँले भूकम्पले भन्दा बाढीले बढी क्षति पुर्याएको बताउनुभयो । ‘भूकम्पले बरु त्यति क्षति गरेन, घर भत्कको मान्छे मरेनन, घर त पछि बनाइहाल्यौं । तर अहिले घरमात्र बगाएन, घर बनाउने ठाउँ नै बगर भयो, घर बनाउने ठाउँ नै छैन,’ आफ्नो पीडा पोख्दै उहाँले भन्नुभयो ।
स्थानीय ध्रुवबहादुर श्रेष्ठले सामान्य खोलाभन्दा अहिले १० मिटर माथि बढेर आएको बताउनुभयो । उक्त दिन ७ बजेदेखि पानीको सतह बढे पनि राति १२ बजेदेखि भने लेदोसहितको बाढी आएको उहाँको भनाइ छ । ‘सामान्य खोलाभन्दा त्यस दिन एकै छिनमा १० मिटर माथि बढेर खोला आयो,’ उहाँले भन्नुभयो, ‘रातीतिर त लेदोसहितको पानी आयो, त्यसपछि मेलम्चीका ड्यामका गिट्टीसहित पानी आयो ।’ उहाँले खोला बहाव बढ्न साथ मानिस भागेकाले मानवीय क्षति धेरै हुन नपाएको बताउनुभयो ।

बजार बगर
चनौट बजार जिल्लाको उत्तरतिरको किनमेल गर्ने बजार रहेको थियो । धेरै मानिसको किनमेल गर्न त्यहाँ आउने गर्दथे । तर बुधबार आएको मेलम्ची खोलामा आएको बाढीले बजार पूरै बगर भएको छ । बजारका अधिकांश पसल आधा डुबेका छन् भने व्यापारीले आफ्ना सामान सारेका छन् । हेलम्बु युवा समाजका सचिव रोशन दङ्गालले साँझतिर आएको बाढीमा कसैले पनि केही निकाल्न नपाएको बताउनु हुन्छ । बाढीपछि बजार क्षेत्रका सबै घर र पसलमा ताला लगाएर मानिसहरु डाँडामा बस्ने गरेका छन । दिउँसो भने व्यापारीहरु आफ्नो सामान पसलबाट झिकेर सुरक्षित ठाउँमा राख्ने गरेका छन ।
दङ्गालले खोलाको बहाव बढिरहेकाले बजार अझै पनि असुरक्षित रहेको बताउनुभयो । ‘पानी परिरहेको छ, कतिबेला बजारतिर खोला पस्छ भन्ने चिन्ता सवैलाई छ,’ उहाँले भन्नुभयो, ‘साँझतिर पानी पर्न थालेपछि यहाँका व्यापारीहरु त्रासमा हुन्छन ।’ उहाँले जिल्लाकै तेस्रो ठूलो बजार क्षेत्रका रुपमा रहेका यस बजारमा यसअघि हजारौँ मानिस किनमेल गर्न आउने गरेका बताउनुभयो । उहाँका अनुसार बाढीले बजार क्षेत्रका ५० घरमध्ये २० बगाएको र करीब सात अर्ब बराबरको क्षति भएको छ । (रासस)













प्रतिक्रिया दिनुहोस्