जनता टाइम्स

६ असार २०७८, आईतवार १७:०५

मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने


काठमाडौं, असार ६ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उदेश्यले मेगा बैंकले एफ वान सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा उक्त कर्जा सुविधा ल्याएको हो । उक्त सुविधा मार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ उपभोग गर्न सक्नेछन् । बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताउनुभयो ।

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाईन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकहरुले कम्पनीको शाखा कार्यालय जान नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु नपर्ने कम्पनीले बताएको छ ।कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाईन मार्फत पुरा भएको अवस्थामा कम्पनीले तुरुन्त कर्जा प्रवाह गर्ने पनि बताएको छ ।