जनता टाइम्स

८ असार २०७८, मंगलवार ०७:५६

असार ४ मा मुख्यमन्त्री पोखरेलले गरेको सहमति उहाँकै लागि आत्मघाती सावित


पोखरा, असार ८ । मन्त्रालय भागभन्डाको किचलोमा फसेको गण्डकीको सत्तारुढ गठबन्धनमा अझै सहमति जुट्न सकेको छैन । दलहरुले ठूला मन्त्रालयमा दाबी गर्दा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएको छैन । सबै दलले ठूला मन्त्रालय दाबी प्रदेश सरकार समस्यामा परेको हो ।

दलहरूले अडान नछाड्दा दबाबमा परेका मुख्यमन्त्री थप दबाबमा पर्नुभएको छ,आफ्नै एकल निर्णयले । मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका हरिशरण आचार्यसँग ३ बुँदे लिखित सहमति गरेको खुलेको छ, जुन अहिले मुख्यमन्त्रीमाथि नै आत्मघाती सावित हुने देखिएको छ ।

दलहरूबीच मन्त्रालयको भागभण्डा, नियुक्तिका विषय नमिल्दा ११ बजे डाकिएको बैठक ढिला गरी १२ बजेमात्र बसेको थियो । सो दिन जनता समाजवादीले कांग्रेससँग लिखित सम्झौता खोजेपछि दलहरूको बैठक बस्दा किचलो आएको प्रष्ट हुन्थ्यो । ४ गते विश्वासको मत लिनु अघिमात्र जनता समाजवादीले धेरै किचलो ल्याएपछि मुख्यमन्त्री पोखरेलले लिखित सम्झौता गर्नुभएको हो । ३ बुँदे सहमतिमा अर्थ मन्त्रालयसहित २ मन्त्रालय समाजवादीले पाउनुपर्ने, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनु पर्ने र दलीय मान्यता पाउन १० प्रतिशतको व्यवस्था हटाउनु पर्ने बुँदा छन् । विश्वासको मत नदिने डरले ४ असारमा मुख्यमन्त्री पोखरेलले गरेको सहमति अहिले उहाँकै लागि आत्मघाती सावित भएको छ ।

जनता समाजवादीका संसदीय दलका नेता तथा मन्त्री हरिशरण आचार्य आफ्नो दलले अर्थ मन्त्रालयमा दाबी नछाड्ने बताउनुहुन्छ। मुख्यमन्त्रीले सहमति गरिसकेको अवस्थामा आफूहरूलाई अर्थसहित २ मन्त्रालय नदिए सरकारविरुद्ध विद्रोह गर्ने आचार्यले बताउनुभयो । अहिले कांग्रेस, माओवादीले प्राकृतिक न्यायको सिद्धान्तको बिगुल फुकेपनि समाजवादीलाई नै त्यो लागु हुने आचार्यले बताउनुभयो । ‘माओवादीले सभामुख र ४ मन्त्रालय, कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, अनि हामी चाहिँ अरुले छाडेको चोइटा समाउनुपर्ने ?’ आचार्यको प्रश्न छ ।

थ्रेसहोल्ड हटाउने सहितका तीनवटै बुँदाबाट कुनै एकमा सरकार नमाने पनि आफूहरू विद्रो थाल्ने र ‘लाखु लखेटाइ’ लखेट्ने आचार्य बताउनुहुन्छ । ‘हामी दल सानो होला तर हाम्रो साथ बिना उनीहरूको सरकार बन्दैन, सानो भनेर हेप्न मिल्दैन,’ आचार्यले भन्नुभयो , ‘सहमतिबाट भाग्न खोजे लाखु लखेटाइ लखेट्छौं ।’ कांग्रेसले ठूला नियुक्ति आफैँसँग राख्न लागेकाले पनि आफूले अर्थमन्त्रालयको दाबी नछाड्ने आचार्य बताउनुहुन्छ । ‘नीति योजना आयोगमा आफ्नै मान्छेलाई ल्याएर शपथ गराइसकियो, अब हामीले किन दाबी छाड्ने, हामी व्याक हुने कुरा आउँदैन,’ आचार्यले भन्नुभयो ।

सांसद धनमाया लामा पोखरेल माओवादीमा राजनीतिक नैतिकताको कमी देखिएको बताउनुहुन्छ। आफूले रोजेको मन्त्रालय नपाए सरकारमै जान्नँ भन्नु अनुचित रहेको र गठबन्धनको सहमतिविपरित रहेको उहाँ दावी गर्नुहुन्छ । माओवादीले तत्कालिन नेकपामा पनि विद्रोह मच्चाएको र अहिले गठबन्धनमा पनि समस्या ल्याउने माओवादी रहेको लामाले बताउनुभयो । ‘हिजो पनि नेकपामा हुनुहुन्थ्यो, २ महिना प्रतिपक्षीमा बसेर अहिले फेरी सत्तापक्ष बन्नुभएको छ, यो त्यो मन्त्रालय पाइनँ भने सरकारमै जान्नँ भन्नु नैतिकता विपरित हो,’ उहाले भन्नुभयउो , ‘दल सानो भएपनि अर्थमा हाम्रो दाबी हो, मुख्यमन्त्रीमै पनि हुन सक्थ्यो, माओवादीले यो हुन्न, त्यो हुन्न भन्न मिल्दैन ।’