जनता टाइम्स

१२ असार २०७८, शनिबार १०:५४

गण्डकीमा टुंगो लाग्यो मन्त्रीको कार्यविभाजन, जसपा र दीपक मनाङ्गेले पाएनन रोजेको मन्त्रालय


पोखरा, असार १२ । गण्डकी सरकारले मन्त्रीको कार्यविभाजन टुंगो लगाएको छ । आइतबारसम्ममा मन्त्रीको कार्यविभाजन औपचारिक रुपमा हुने सहमति गठबन्धनका दलबीच भएको हो । गत जेठ २९ गते चार मन्त्रीले सपथ लिए पनि अहिलेसम्म जिम्मेवारी पाएका छैनन् । मन्त्रीहरुलाई आइतबार जिम्मेवारी दिने तयारीमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल हुनुहुन्छ ।

गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले शुक्रबार टुंगो लगाउने तयारी गरेपनि छलफल नटुंगिएकाले आइतबारसम्म कार्यविभाजन टुंग्याउने सहमति भएको बताउनुभयो । अहिलेसम्म चार मन्त्रीलाई कुनकुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने सहमति भइसकेको तर अन्तिम टुंगो भने लाग्न बाँकी छ । अहिलेसम्म भएका सहमतिअनुसार, जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय पाउने हुनुभएको छ । आचार्यले अर्थ मन्त्रालयको दावी गर्नुभएको थियो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्याको मन्त्रालय, कांग्रेसका कुमार खड्काले सामाजिक विकास मन्त्रालय पाउने हुनुभएको छ । यस्तै राजीव गुरूङ ‘दीपक मनाङे’ ले साबिककै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने हुनुभएको छ । एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा पनि मनाङेले सोही मन्त्रालय सम्हाल्नुभएको थियो ।

अहिले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउन निर्णायक भूमिका खेल्नुभएका मनाङ्गेले पनि यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी गर्नुभएको थियो । जसपा र मनाङ्गेले रोजेको मन्त्रालय पाउने बताएर बिश्वासको मत लिनुभएका मुख्यमन्त्री पोखरेलले प्रस्ताव पारित भएसँगै माग अस्वीकार गर्नुभएको हो ।