जनता टाइम्स

१३ असार २०७८, आईतवार १४:०५

माधव नेपाल एमालेमा नफर्किए पनि पार्टी संरचना जेठ २ मा फर्कने, यस्तो छ स्थायी कमिटीको प्रस्ताव


काठमाडौं, असार १३ । सत्तारुढ नेकपा एमालेले माधव नेपाल समूहलाई पार्टीमै फर्काउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । त्यसको लागि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गर्ने निश्कर्षमा एमाले पुगेको हो ।

माधव नेपालले एमालेमा नफर्किने निर्णय लिए पनि भविश्य भएको एमाले नेता तथा कार्यकर्तालाई पार्टी काममा फर्काउन माधव समुहको मागअनुसार नै २०७५ जेठ २ मा फर्किने निर्णयसहित औपचारिक आह्वान गर्ने निश्कर्षमा एमाले संस्थापन पक्षले गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै जेठ २ मा फर्कन आफू तयार रहेको सार्वजनिक जानकारी दिइसक्नु भएको छ । सोही प्रयोजनका लागि आज बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । एमाले स्थायी कमिटीका एक सदस्यले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार सो बैठकबाट एकताको लागि अन्तिम प्रयत्न गरिने र सवै संरचना जेठ २ मा फर्काउने निर्णय हुनेछ ।

‘माधव कमरेड एमालेमा नफर्कने घोषणा गरेको जानकारी सवैले पाइसकेका छन, उहाँले केही दिनअघि दिनुभएको अभिब्यक्तिले उहाँ फर्कनु हुन्न भन्ने प्रष्ट भइसक्यो, तर, पनि पार्टीले उहाँहरूलाई एमालेमै रहनका लागि हदैसम्म लचिलो भएर सम्बोधन गर्छ । जेठ २ मा जाने भनेर अध्यक्षले आह्वान गरिसक्नु भएकै छ, महाधिवेशन आयोजक कमिटीको बैठकले थप निर्णय गर्छ,’ ती सदस्यले जनताटाइम्ससँग भने । पूर्वप्रधानमन्त्री नेपालले शनिवार मात्रै आफूलाई एमालेबाट प्रधानमन्त्रीको अफर आएको तर बिपक्षी गठबन्धनलाई धोका नदिने भनेर आफू एमालेमा कहिल्यै नफर्कने सार्वजनिक उदघोष गर्नुभएको थियो । आजको बैठकमा नेपालको संभावित कदमबारे समेत छलफल भएको छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा सर्वोच्च अदालतका पछिल्ला आदेश तथा फैसला र माधव नेपालको क्रियाकलापबारे छलफल भएको छ ।

एमाले स्थायी कमिटीका अर्का सदस्यका अुनसार आजको बैठकमा माधव नेपाल एमालेमा नफर्किने निष्कर्ष निकालिएको छ । माधवपक्षीय नेताहरूसँगका वार्तामा सहभागी नेताहरुले बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष वा प्रधानमन्त्री दिए पनि नेपाल भने एमालेमा नफर्किने निष्कर्ष सुनाउनु भएको छ । नेता नेपाललाई यसबीचमा दोस्रो अध्यक्षको अफर समेत गरिएको तर उनले एकल अध्यक्ष दिए पनि अब एमालेमा नबस्ने जवाफ दिएको ती नेताको भनाई छ ।

‘माधव नेपाललगायत उहाँसँग रहेको एउटा टिम कुनै हालतमा एमालेमा फर्किदैन भन्ने निष्कर्ष रह्यो । तर, जेठ २ मा फर्काएर सबै संरचना क्रियाशील गराउने औपचारिक निर्णय गर्दा धेरै मान्छेको जिम्मेवारी फर्किने भएकाले उनीहरू रोकिन सक्छन् भनेर अन्तिम आह्वान गर्न लागिएको हो,’ ती नेताले भने ।