जनता टाइम्स

१४ असार २०७८, सोमबार १२:१४

भोलिदेखि २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोरबिजोर गरी चलाउन पाइने


काठमाडौं, असार १४ ।काठमाडौं उपत्यकामा भोलिदेखि सार्वजनिक गाडी सञ्चालन हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बिहान बसेको बैठकले भोलिदेखि २५ सिटभन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै सञ्चालनमा आइसकेका छन् । यस्तै उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ । कोरोना सङ्क्रमणको जोखिम घटेको तर नहटेकाले प्रतिबन्धहरुलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।

‘अहिलेलाई २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातमा भौतिक दूरी कायम गर्दै चलाउन अनुमति दिने निर्णय भएको छ’ निरौलाले भन्नुभयो । ‘एकैपटक सार्वजनिक यातायात खुलाउँदा संक्रमण पुनः बढ्ने निष्कर्षको आधारमा अहिलेलाई केही खुकुलो मात्र तुल्याएका हौं’ निरौलाले भन्नुभयो ।

के–के खुल्ने र के बन्द हुने सम्बन्धमा मापदण्डहरु तयार गरेर जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गर्नेछन् । काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।

काठमाडौं उपत्यकाको अवस्था कस्तो छ?

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म उपत्यकाका तीन जिल्लामा ८ हजार ५०८ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा ४ हजार ३९१, भक्तपुरमा १ हजार ७३२ र ललितपुरमा २३८५ जना सक्रिय संक्रमित छन् । मन्त्रालयको आइतबार ४ बजेको तथ्यांकअनुसार काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको थियो ।

मुलुकको सक्रिय संक्रमण ४० हजारमा झर्‍यो

आइतबारसम्म नेपालमा भाइरस संक्रमण दर १९.१ प्रतिशत रहेको छ । २५ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ । विभिन्न ३० जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि रहेको छ । आइतबार ९,८३६ नमुना (एन्टीजेन र पीसीआर) परीक्षण गर्दा १,९२० जना संक्रमित थपिएका छन् । मुलुकको सक्रिय संक्रमित संख्या ४० हजार ३३६ मा झरेको छ ।