जनता टाइम्स

१४ असार २०७८, सोमबार १४:४४

प्रधानमन्त्री ओलीले दिए माधवलाई जस्ताको तस्तै जवाफ (भिडियोसहित)


काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वबरिष्ठ नेता माधवकुमार नेपाललाई जस्ताको तस्तै जवाफ दिनुभएको छ । आफ्नो हैसियत माथि देखाउन प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै अफर गरेको सार्वजनिक घोषणा गर्नुभएका नेता नेपाललाई आज ओलीले ‘माधव जस्तो अनैतिक मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न बहुला कुकुरले नटोकेको भन्दै कडा जवाफ दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले माधव नेपालजस्तो लाजसरम पचेको व्यक्ति अरू कोही हुन नसक्ने भन्दै आफूले कुनै प्रस्ताव नगरेको प्रष्ट पार्नुभयो । प्रमुख विपक्षी दलको पछि हिँडेका नेपालको नामै लिएर प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘माधव नेपाल भन्ने व्यक्ति छन, जसको चर्चा अहिले भइरहेको छ । यति लाजसरम पचेको मान्छे अरू छैन ।’ प्रधानमन्त्री ओलीले नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको र माधवले झुटो बोल्दै हिडेको तथ्य पनि खोल्नुभयो । आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको ओलीको भनाई थियो ।

‘तपाईंहरूले दुई–तीन दिन अघिदेखि सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे । म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ । यसो भनिरहेका छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले माधवको पछिल्लो गन्तब्य कांग्रेस माओवादीमा बिलय हुनु नै रहेको बताउनु भयो । ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् । प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर, अहिले धाक लगाएका छन, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई बहुला कुकुरले टोकेको छ र ? कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?’

प्रधानमन्त्री ओलीले नेपाललाई ‘लाजशरम पचेको मान्छे’को संज्ञा पनि दिनुभयो । ‘यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छे,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डपथमा हिँडेपछि कांग्रेसमा नाथुराम गोड्सेको खोजी भइरहेको तथ्य पनि उजागर गर्नुभयो । उहाँले माधव प्रचण्डको मामुली कार्यकर्ता र प्रचण्ड कांग्रेसको मामुली कार्यकर्तामा परिणत भइसकेको ठोकुवा पनि गर्नुभएको छ ।