तनहुँ, असार १७ । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिनुभयो । सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको उहाँले बताउनुभयो । घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताउनुभयो । घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका कारण जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले जानकरी दिनुभयो ।
तनहुँका निवर्तमान सांसद किसान श्रेष्ठका अनुसार लगातारको बर्षाले तनहुँका विभिन्न स्थानमा गएको बाढी र पहिरोले जनधनको क्षती भएको हो । यसैगरी तनहुँकै छाब्दी खोलामा आएको बाढीले व्यास नपा १ र १३ जोड्ने पक्की पुल भत्कदा व्यास नपाका वडा नम्बर १३ र १४ तथा बुद्धसिंह मार्ग हुँदै जाने तनहुँका दक्षिणी भेगका अधिकांश बस्तीसँग यातायात सम्बन्ध बिच्छेद भएको छ । त्यस्तै पहिरोको कारण पृथ्वीराजमार्गको दमौली छिर्कन खन्डमा यातायात अबरुद्ध भएको छ ।
निवर्तमान सांसद श्रेष्ठले दक्षिण क्षेत्रको लाईफलाईनको रुपमा रहेको छब्दी पुलको तत्काल पुननिर्माण गरि यातयात सन्चालनको वातावरण बनाउन प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले प्राकृतिक प्रकोपको कारण भएको क्षतीबाट नागरिकलाई बचाउनु सबैको कर्तव्य भएको भन्दै तिनवटै तहका सरकारको संयुक्त प्रयास र समन्वयले मात्रै प्राकृतिक प्रकोपबाट भएको क्षतिलाई कम गर्न र पीडितलाई उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुग्छने बताउनु भयो ।
प्राकृतिक प्रकोपको कारण जिल्लाबासीमा भएको अपुरणीय क्षतिप्रति दुख व्यक्त गर्दै संधैभर साथमा रहेको प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ । साथै पीडितलाई राहत र पुनस्थापनाको कार्यमा लाग्न स्थानीय प्रशासन लगायत सवै निकायलाई आग्रह गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्