काठमाडौं, असार १७
दोस्रो बन्दाबन्दीको ५८ दिनपछि आजदेखि हवाई उडान सुचारु भएको छ । बन्दाबन्दी अघिल्लो उडान हुने संख्याको आधारमा अहिलेलाई ५० प्रतिशतमा झारिएको छ । नागरिक उड्डयन प्राधिकरणको उडान तालिकाअनुसार हरेक घण्टामा ७ उडान मात्रै हुनेहुँदा विमानस्थलमा भिडभाड देखिएको छैन । कोभिडविरुद्धको निर्देशिका अनुसार उडान सेवा सञ्चालन भइरहेको छ । आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट यात्रुलाई काठमाडौं हवाई मार्गबाट आवतजावतमा सहज भएको छ ।

हरेक यात्रुको तापक्रम मापन, ह्याण्ड सेनिटाइजरको व्यवस्था, विमानभित्र मास्क र फेसशिल्डको अनिवार्य प्रयोग सुरक्षाका प्रमुख उपायहरु अपनाइएका छन् । बाढीपहिरोले सडकको बाटोमा समस्या भएपछि गन्तव्यमा पुग्न मानिसहरु हवाईमार्फत आवतजावत गरिरहनुभएको छ । यता बुद्ध एयरले पाएको ३१ उडानबाट झण्डै ३८०० यात्रु उडान भर्न सक्ने एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीले बताउनुभयो ।

मार्केटिङ निर्देशक जोशीका अनुसार आज पहिलो दिन ३५०० बुकिङ भएको छ । उहाँले भन्नुभयो,‘हाम्रा लागि यो निकै उत्साहजनक संख्या हो । बन्दाबन्दीपछिको पहिलो दिनमा नै यत्तिको संख्यामा यात्रुहरु आउनु राम्रो हो । यसअघिको पहिलो बन्दाबन्दीपछि भएको उडानमा यत्तिको सहभागिता थिएनन् ।’ यस विचमा बुद्ध एयरले भने उडान थप गरेको छ । बुद्धसँग भएको १५ जहाजमध्ये १० एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा बिचक्राफ्ट जहाजहरु छन् । त्यस्तै कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै यात्रुका आफन्तलाई स्वागत वा बिदाईमा एयरपोर्ट परिसर नआइदिन विमानस्थल प्रशासनले अनुरोध गरेको छ ।














प्रतिक्रिया दिनुहोस्