जनता टाइम्स

२० असार २०७८, आईतवार ०९:२२

एनआरएनए अमेरिकाले चुच्चे नक्सा र प्रधानमन्त्रीको अपमान गरेपछि हंगामा, मञ्चमै हात हालाहाल (भिडियोसहित)


न्यूयोर्क, असार २० । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले पुरानो नक्सा राखेर कार्यक्रम गर्नुका साथै प्धानमन्त्री केपी शर्मा ओलीको अपमान गरेपछि हंगामा भएको छ ।

न्यूयोर्कमा भएको एनआरएनए अमेरिकाको १० औ बार्षिक साधारण सभाको उदघाटन समारोहमा आयोजकले जानीजानी चुच्चे नक्साको सट्टा पुरानो नक्सा प्रयोग गरेको र प्रधानमन्त्री ओलीको अपमान गर्दै शुभकामना सन्देश नसुनाएपछि सहभागीहरुले कार्यक्रममै चर्काे बिरोध गरेका हुन । कार्यक्रममा सहभागी समाजसेवी तथा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष प्रभु थापाले एनआरएन अमेरिकाको दशौं साधारण सभामा गाइजात्रा देखिएको बताउनु भयो ।

उहाँका अनुसार पुरानो नक्शा प्रयोग गर्ने, सम्मानीय प्रधानमंत्रीको शुभकामना पत्र नपढ्नेदेखि हात हालाहालको अवस्था सिर्जना भएको जानकारी उहाँले आफ्नो फेसबुकमार्फत नै जानकारी दिनुभएको छ । कार्यक्रममा बिवाद बढदै जाँदा मञ्चमै हातहालाहाल भएको छ। उद्घाटन समाहारोहको सकिनुअघि निर्वाचित नयाँ पदाधिकारीहरुलाई सपथ ग्रहण गर्ने कि नगर्ने भन्ने विषयमा संघका अध्यक्ष सुनील साह र उपाध्यक्ष बीरआर लामाले फरक फरक उद्घोषण गरेपछि चारैतिरबाट पक्ष र विपक्षमा ठूलो हुल मञ्चमा प्रवेश गरेको थियो। कार्यक्रम समापनमा सन्दर्भमा उद्घोषक पशुपति पाण्डेले धन्यवाद ज्ञापन गर्न भनी बीरआर लामालाई मञ्चमा बोलाउनुभएको थियो ।

लामाले धन्यवाद ज्ञापन गर्दा गर्दै आफैं उद्घोषण गर्दै निर्वाचन समितिका प्रमुख विश्व बराललाई नयां कमिटीलाई शपथ ग्रहण गराउन मञ्चमा बोलाउनु भयो । उहाँले एकाएक शपथ ग्रहणको कुरा ल्याएपछि निर्वाचन समितिका बराल मञ्चमा पुग्नुभयो। उहाँले मञ्चमा शपथ ग्रहण गराउने प्रयास शुरु गर्दा नगर्दै अध्यक्ष सुनील साहले माइक खोसेर शपथ ग्रहण नहुने घोषणा गर्नुभयो ।

त्यसपछि पक्ष र विपक्षमा एक्कासि ठूलो हुल मञ्चतिर प्रवेश गरेको थियो। र, मञ्चमै ठेला ठेल भएको थियो। यो क्रम १५ मिनेटभन्दा बढी भएको देखियो। त्यसपछि मञ्चबाटै कसैले सेक्युरिटी सेक्युरिटी भनेर बोलायो। दुई ठूलो ज्यान गरेका विदेशी सेक्युरिटी गार्डहरु मञ्चमा गए र भटाभट ठेल्न थाले। उनीहरुले मञ्च खाली गर्न चाहे पनि सकेनन्। त्यसपछि सुनील साह र पशुपति पाण्डेलाई लिएर उनीहरु बाहिर गए। त्यसपछि सहभागी महिलाहरु मञ्चमा गई माइक समातेर सबैलाई मञ्च खाली गर्न आग्रह गरे। विस्तारै मानिसहरु मञ्च छोड्न थाले। पुन सेक्युरिटी गार्डहरु मञ्चमा देखिए अनि फेरि शपथ ग्रहण शुरु गर्न विजयीहरुलाई निर्वाचन समितिका बरालले आह्वान गर्नुभएको थियो ।