काठमाडौं, असार २२ । नेकपा एमालेमा एकता कायम गर्न बनेको कार्यदलको बैठक सकिएको छ । आजको बैठकमा कार्यदलका सदस्यहरुले एकताका लागि गर्नुपर्ने कामका बिषयमा सुत्रवद्ध रुपमा आफ्नो धारणा राखेका छन ।
बैठकमा ठोश निश्कर्ष भने आउन नसकेको नेताहरुले बताए । बैठकबाट बाहिरिने क्रममा स्थायी समिति सदस्य रघुजी पन्तले आज बुँदागत छलफल भएको जानकारी दिनुभयो । एमाले कार्यदल सोमवारबाट ब्यँुताइएको थियो । ‘हिजो बैठकमात्र बसिएको थियो, आज बुँदागत छलफल भयो । छलफल जारी रहन्छ । टुंगिन पनि सक्छ नटुंगिन पनि सक्छ,’ बैठकबाट बाहिरिने क्रममा नेता पन्तले भन्नुभयो ।
उहाँले आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त वक्तव्य जारी गर्ने विषयमा छलफल प्रवेश नै नभएको जानकारी पनि दिनुभयो । माधव समुहका कार्यदल संयोजक भीम रावलका अनुसार आजको बैठकमा सबै सदस्यहरूले आ–आफ्नो सुझाव दिनुभएको छ ।
एमाले सचिव तथा कार्यदल सदस्य गोकर्ण बिष्टका अनुसार बैठक सकारात्मक ढंगले अघि बढेको छ । ‘बैठक सकारात्मक ढंगले अघि बढेको छ । पार्टीभित्र देखिएका विवादका सन्दर्भमा केन्द्रीत रहेर छलफलको सुरुवात भएको हो’, विष्टले भन्नुभयो, ‘आजको बैठकमा सदस्यहरूले आ–आफ्ना धारणा राखेर छलफलको सुरुवात गर्नुभयो । यो छलफललाई निरन्तरता दिने निर्णय भएको छ ।’ कार्यदल बैठक भोलि पुनः बस्नेछ ।













प्रतिक्रिया दिनुहोस्