जनता टाइम्स

२४ असार २०७८, बिहीबार १६:३९

व्यवसायीहरुद्धारा रेष्टुरेन्ट व्यवसाय पूर्णरुपमा सञ्चालनको माग


काठमाडौं, असार २४

फास्टफुड एसोसियसन नेपालले फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस पूर्णरुपमा खोल्न दिन माग गरेको छ । आज काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु समक्ष एसोसियसनले आफूहरु पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्न तयार रहेको भन्दै फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस सञ्चालन गर्न माग गरेको हो ।

फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस बिहान ९ बजदेखि बेलुका ९ बजेसम्म खोल्न दिन, टेवल सर्भिसको वातावरण बनाउन उपत्यकाका सीडीओहरुलाई ध्यानाकर्षण गराईएको एसोसियसन नेपालका केन्द्रीय सदस्य राकेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना न्यूनिकरण गर्नका निमित्त कि पुर्ण लकडाउन हुनुपर्छ, नभए केही क्षेत्र खुलाउने, कुनै नखुलाउने विभेदपूर्ण निर्णय स्वीकार्य छैन भनेर हामीले ध्यानाकर्षण गरायौँ ।’

उहाँले थप्नुभयो, ‘श्रमिक, मजदुरको समस्या, घरभाडाको समस्या र बैंक तथा सहकारीबाट महँगो ब्याजमा ऋण लिएर गरिएको व्यवसायमा लगानीको जोखिमबारे पनि जानकारी गराएका छौँ, यदि राज्यबाट सहजिकरण नभए व्यवसाय बन्द गरेर साँचो बुझाउन बाध्य हुने कुरा पनि राखेका छौँ ।’ त्यस्तै उहाँले यदि व्यवसाय बन्द गर्नुपर्ने अवस्था आए व्यवसायीसहित मजदुरको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने सुनाउनुभयो ।