जनता टाइम्स

२४ असार २०७८, बिहीबार १९:३७

कार्यदलको सहमति भाँडन माधवले राखे फेरि अर्काे सर्त


काठमाडौं, असार २४ । सत्तारुढ नेकपा एमालेको बिवाद मिलाउन गठित कार्यदलले सम्पुर्ण कुरा टुंगो लगाएपछि सहमतिबाट भाग्न बरिष्ठ नेता माधवकुमार नेपालले थप दुई सर्त अघि सार्नुभएको छ । बरिष्ठ नेता नेपालले एमालेको बिधानमै नभएको कुरा चाहिने भन्दै थप सर्त अघि सार्नुभएको हो ।

एमाले स्रोतका अनुसार बुधवार अध्यक्ष केपी शर्मा ओलीसँग भएको बार्तामा पावर शेयरिङको कुरा हुनुपर्ने बताउनु भएको नेता नेपालले भने निवर्तमान अध्यक्ष झलनाथ खनाल भन्दा माथिल्लो बरियता र अध्यक्ष ओली बरावरको अधिकारसहित दोस्रो अध्यक्ष आफूले पाउनु पर्ने सर्त तेस्र्याउनु भएको छ । ‘ माधव कमरेडको विधि पद्धति भनेको आफूलाई विधानमै नभएको दोस्रो अध्यक्ष र बराबरी हिस्सेदारी रहेछ । यो दुनियाँ हसाउने कुरा हो,’ कार्यदलमा रहनुभएका संस्थापनतर्फका एक नेताले जनताटाइम्स डटकमसँग भन्नुभयो ।

कार्यदलको प्रयाशपछि पार्टी एकढिक्का भएर अघि बढने लगभग तय भइसकेको अवस्थामा नेपालको सर्तले निश्कर्ष आउन सकेको छैन । यद्यपी सहमतिको अन्तिम खाका तयार पार्न कार्यदल बैठक केहीबेरमा बस्न लागेको छ । बार्तामा सहभागी एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार माधवले सरकारदेखि पार्टीभित्र आफ्नो हैसियत खुल्ने गरी पावर शेयरिङका लागि प्याकेजमै सहमति हुनुपर्ने अडान राख्नुभएको छ ।

नेपालको सो सर्तपछि वार्ता टोलीका नेताहरु आज दिउसोको बैठक रोकेर दिनभर औपचारिक र अनौपचारिक छलफल गर्नुभएको थियो । नेता नेपालले आफूलाई अध्यक्षकै रुपमा प्रस्तुत गर्दै पार्टी सञ्चालनमा बराबरी हिस्सेदारी हुनुपर्ने सर्तसमेत अघि सार्नुभएको छ । यसैगरी नेपालले पार्टी सञ्चालन र हरेक निर्णयमा राजनीतिक तथा कानूनी मान्यता हुनेगरी ओलीसँगै आफ्नो पनि हस्ताक्षर हुनुपर्ने अडान लिनुभएको छ ।

नेपालको सो सर्तले बार्ता टोलीकै सदस्यहरु चकित परेका छन । ‘वार्ता टोलीले पार्टीलाई विधिसम्मत चलाउने र जेठ २ बाट अघि बढाउने सन्दर्भमा सहमति जुटाएको छ । तर माधव कमरेडले ओली बराबर पार्टी सन्चालनमा आफ्नो हिस्सा माग्नुभयो, जुन कुरा वार्ता टोलीले मात्रै होइन, एमालेले नै पूरा गर्न सक्दैन,’ कार्यदलका एक नेताले जनताटाइम्ससँग भने, ‘माधव कमरेडको यो कुरा त अध्यक्ष कमरेडले सधैभरी भन्दै आउनु भएको बालकले झोलामा हात्ति हालिदिनु भनेजस्तै भयो ।’

नेपालले ओलीको नियत फैसलाअघि एमाले एकठाउँमा छ भनेर देखाउने र मिलेको भोलिपल्टबाट एकलौटी निर्णय गर्न थालिहाल्छन भन्दै आफूलाई अध्यक्ष पद चाहिएको मक्सदलाई बाहिर ल्याउनु भएको ती नेताले बताए । यस्तै चुनावमा जाँदा टिकटनै दिदैनन भन्दै दुवै नेताको हस्ताक्षर भएको निर्णयमात्र कानूनी रुपमा मान्य हुने ग्यारेन्टी हुनुपर्छ भन्ने नेपालको तर्क छ । एमालेको विधानमा दुई अध्यक्ष व्यवस्था छैन । माधवकै सर्तअनुसार पनि त्यो कुरा संभव छैन । एमालेमा अध्यक्षपछि बरिष्ठ नेता झलनाथ खनाल र त्यसपछि नेपाल हुनुहुन्छ । तर नेपाल झलनाथलाई उछिनेर अध्यक्षपछिको दोस्रो अध्यक्ष बन्ने योजनातिर लाग्नुभएको छ । जुन बिधि र पद्धतीअनुसार छैन ।