जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार ०७:३३

नेपालमा लगानी, पुँजी र प्रविधि भित्र्याउन केन्द्रित बन्यो प्रधानमन्त्री ओलीको युरोप भ्रमण


पेरिस, जेठ ३१

युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्नु भएको छ । प्रधानमन्त्री ओलीले बिहीवार आफ्ना समकक्षी फिलिपसँग भेटबार्ता गर्नुभएको हो । भेटमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

भेटमा सहभागी परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीका अनुसार भेटमा दुबै नेताले नेपाल फ्रान्सबीचको ७० वर्ष लामो मित्रतापूर्ण सम्बन्धको चर्चा गर्दै यसलाई अझ बलियो बनाउनु पर्ने विषयमा जोड दिनु भएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन पहल गरिदिन फ्रान्सेली समकक्षीलाई आग्रह गर्नु भएको छ । भेटमा फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपले नेपालले संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा खेलेको भूमिको सराहना गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाल जलवायु परिर्वतनको असरबाट जोखिमा रहेको चर्चा गर्दै जयवायु परिवर्तनको असर कम गर्ने विषयमा फ्रान्सले खेलेको भूमिकाको प्रशंसा गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले फ्रान्सेली प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको र निम्तो स्वीकार्दै उपयुक्त समयमा नेपालको भ्रमण गर्ने वचन दिनुभएको थियो । प्रधानमन्त्रीले पेरिसमा रहेको नेशनल म्युजियम अफ एशियन आर्टको पनि भ्रमण गर्नु भएको थियो ।

सो संग्रहालयमा नेपालबाट हराएका दुईवटा मूर्ति रहेको र त्यसलाई संग्रहालयले प्रदर्शनीबाट हटाएर नेपाललाई फिर्ता गर्न चाहेको संग्रहालयका अधिकारीहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनीहरूले ती मूर्ति फिर्ता गर्न केही कानुनी समस्या भएको र सो समाधान गरी छिट्टै फिर्ता पठाउने बताएका थिए । भेटको अवसरमा प्रधानमन्त्री ओलीले लगानी, पुँजी र प्रविधि नेपालमा भित्र्याउन आग्रहसमेत गर्नुभएको थियो ।

फ्रान्सबाट प्रेरणा

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्समा भएका विभिन्न विचार प्राप्ति र आन्दोलन र परिवर्तनबाट आफू कलिलो उमेरबाट प्रभावित भएको बताउनुभएको छ । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध औपचारिक रुपमा स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा पेरिसस्थित नेपाली दूतावासमा बिहीबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

फ्रान्सको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले आफू फ्रान्सका रुसो ,भोल्तेयर जस्ता चिन्तक दार्शनिकबाट किशोर अवस्थामा नै प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ सिसिलियो स्पाकेटस, एथेन्सका सुकरात , प्लेटो र अरस्तु लगायत पछिल्लो समयमा फ्रान्सका विचारकाले व्यक्त गरको विचार समाजलाई समृद्ध बनाउने मानव सभ्यतालाई सकारात्मक प्रभाव पर्ने खालका थिए म त्यसबाट निकै प्रभावित थिएँ ।”

विश्व प्रशिद्ध चार्टिस्ट आन्दोलनको प्रेरक मजदुर वर्गीय आन्दोलन सन् १८३१ मा फ्रान्सको दक्षिणमा रहेको लियो सहरमा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले मजदुरले गरेका सङ्घर्ष प्रेरणादायी भएको बताउनुभयो । उहाँले सन् १८७१ मा पेरिसमा भएको विश्वमा उथलपुथल ल्याउने आन्दोलनबाट आफूले प्रेरणा लिएको बताउनुभयो ।

फ्रान्समा राजतन्त्रले, तानाशाहीले दुःख दिएको र लुईं १६औँलाई दरबारबाट लखेटिएका कुरा पढेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपालमा १४ वर्ष जेल बसेर भर्खरै जेलबाट छुटेपछि भर्साइल दरबार जुन फ्रान्सले जोगाएर राखेको छ त्यो हेर्न गएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “भर्साइल दरबार पुगेर रित्तो दरबार हेरेपछि मलाई लाग्यो फ्रान्समा शासन गर्ने त्यति बलियो राजालाई त फालिँदो रहेछ भने नेपालमा पनि राजतन्त्र फाल्न सकिन्छ र लोकतन्त्र ल्याउन सकिन्छ भन्ने सोच बनाएको थिएँ । ”

उहाँले भन्नुभयो, “ केही समय प्रदर्शनीका लागि भनेर बनाएका आइफेल टावर किन बनाएको, किन खर्च गरेको भनेर चर्चा चल्यो, भत्काउने भन्दाभन्दै त्यो आकर्षणको केन्द्र बन्यो । पछि विस्तारै आइफेल टावर पेरिसको परिचय बन्यो, आम्दानीको स्रोत र गर्वको विषय पनि बन्यो । यसबाट मलाई अलिक दूरदृष्टि दिएर केही परसम्म हेरेर अग्ला काम पनि गर्नुपर्ने रहेछ भन्ने प्रेरणा मिलेको थियो ।”

उहाँले नेपालमा राजनीति सङ्क्रमण काल पूरा गरेको र आफ्ना प्रयासहरू सुशासन र विकासमा केन्द्रित गरेको बताउनुभयो । उहाँले आफू नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषण गरेको फ्रान्सेली मित्रहरूलाई त्यो नेपाल भ्रमणबारे जानकारी गराउन आएको बताउनुभयो । नेपाल हेर्न लायक छ, विविधतायुक्त छ, धेरै सम्भावना भएको देश हो भन्दै फ्रान्सेली नागरिकलाई नेपाल आउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल अहिले विकासमा केन्द्रित भएको र त्यसका लागि नेपालको मात्र प्रयासले विकास ढिलो हुने बताउँदै भन्नुभयो , ‘मित्रहरूले हामीलाई सहयोग गर्ने बेला आएको छ त्यसका लागि लगानी, पुँजी र प्रविधि नेपालमा भित्र्याउन आग्रह गर्दछु ।’ उहाँले नेपाल प्राचीन कला, सम्पदा र संस्कृतिको देश भएको र नेपाल भौगोलिक विविधता, मौसमी विविधता पनि रहेको र यसले विविध उत्पादनको सम्भावना रहेको स्पष्ट पार्नुभयो ।

लगानी गर्ने वातावरण छ, नेपालमा लगानी सुरक्षित हुन्छ । प्रतिफल र पुँजी फिर्ता लान सकिने नयाँ परिस्थित बनेको छ । म लगानी गर्न सबैलाई आग्रह गर्छु, उहाँले भन्नुभयो । उहाँले दुई देशबीचको ऐतिहासिक मित्रतालाई मजबुत बहुआयमिक र फलदायी बनाउन सबैलाई आफ्ना ठाउँबाट पहल गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले फ्रान्समा रहेका नेपालीलाई आफूलाई नेपाल देख्न सक्ने आँखीझ्याल रुपमा प्रस्तुत गरेर अघोषित राजदूतका रुपमा जिम्मेवार पूर्ण भूमिका खेल्नुहुने विश्वास लिएको बताउनुभयो ।