जनता टाइम्स

२५ असार २०७८, शुक्रबार १४:४७

नेपालमै विद्युतीय गाडीको एसेम्बल, वार्षिक हजार गाडी बनाउने


काठमाडौं, असार २५

अब नेपालमा विद्युतीय गाडीको पनि एसेम्बल हुने भएको छ । यसअघि मोटरसाइकलको एसेम्बल नेपालमा हुँदै आएपनि यद्यपी, यसले अपेक्षाकृत सफलता भने पाईसकेको छैन । अब गाडीको उसेम्बलसका लागि प्लान्ट निर्माणको पहिलो चरणमा जग्गाको टुंगो लागेको छ । रुपन्देहीको सैनामैना नगरपालिका ८ र ९ को नदी उकास जग्गामा बिजुली गाडीको एसेम्बल प्लान्ट बस्ने भएको छ । यसका लागि सैनामैना नगरपालिका र सुन्दर यातायात प्रा.लीबीच सम्झौता भएको छ ।

सुन्दर यातायातले सैनामैनाको भडसी, भडसा र शंकरपुरको १० बिघा जग्गामा एसेम्बल प्लान्ट राख्ने भएको हो । यातायातले २५ वर्षका लागि जग्गा भाडामा लिएको जनाएको छ । उक्त जग्गाको वार्षिक भाडा भने ६ लाख रुपैयाँ नगरपालिकालाई बुझाउने सम्झौता भएको छ । त्यस्तै नाफाको १ प्रतिशत नगरपालिकालाई दिने र वर्षमा उक्त नगरका एक विद्यार्थीलाई अटो इन्जिनियरिङ पढाउने समेत सहमति भएको हो । यातायतले पहिलो चारणमा ३ अर्ब ६० करोड लगानी गरेर एसेम्बल प्लान्ट राख्ने बताएको छ ।

सुन्दरका सञ्चालक भेषबहादुर थापाले निषेधाज्ञा पूर्णरुपमा हटेको ६ महिनाभित्रै एसेम्बल प्लान्ट निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले एसेम्बल गर्न चीनबाट पार्टपुर्जा ल्याउने पनि बताउनुभयो । नेपालमै गाडी एसेम्बल सुरु भएपछि हाल विदेशबाट आयात गर्दाको तुलनामा एउटा गाडीमा २० देखि २२ लाख सस्तो पर्ने यातायातको दाबी छ । त्यस्तै ४९ प्रतिशत सुन्दर अटो इन्जिनियरिङ र ५१ प्रतिशत चिनियाँ कम्पनीको लगानी रहने भएको छ । प्लान्टबाट पहिलो वर्ष ३ सय गाडी बनाउने लक्ष्य कम्पनीको छ । त्यसपछि हरेक वर्ष १ हजार गाडी उत्पादन गर्ने लक्ष्य लिएको यातायातले जनाएको छ ।