काठमाडौं, असार २५ । पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र अबैध रहेकोले तत्काल खारेज गर्न उजुरीकर्ता नेताहरुले माग गर्नुभएको छ । माओवादीको दल दर्ता खारेजी माग गर्नुभएका तात्कालिन माओवादी र हाल एमालेमा रहनुभएका नेताहरू आज निर्वाचन आयोगमा पुगेर अबैध प्रमाणित भइसकेको कारण खारेज हुनुपर्ने बताउनु भएको हो ।
उहाँहरुले अबैध काम गर्नेमाथि कार्वाहीका लागि खारेजीमा खुट्टा नकमाउन आयोगका पदाधिकारीलाई आग्रहसमेत गर्नुभयो । आफूहरुको निवेदनमा भइरहेको प्रगति बुझ्न टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र लिलबहादुर थापालगायत नेताहरू आज निर्वाचन आयोग पुग्नुभएको हो । अधिवक्ता सरोज बुढाथोकीमार्फत बुधबार उहाँहरूले माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराउनु भएको थियो ।
एमाले केन्द्रीय सदस्य लिलबहादुर थापाले आयुक्तहरूसँग निवदेनबारे छलफल गरिएको जानकारी दिनुभयो । ‘आयुक्तहरूसँग थप प्रमाण चाहिए ल्याउन तयार छौं, तपाईंहरू यसलाई द्रुत गतिमा अगाडि बढाउनोस, तपाईंहरू कसैको डर, धाकमा नपर्नाेस भन्यौं,’ थापाले भन्नुभयो, ‘प्रमाण पुर्याएर दर्ता खारेजी गर्न खुट्टा नकमाउनोस भन्ने सुझाव राख्यौं ।’ लामो समयसम्म महाधिवेशन नगराएकाले माओवादी केन्द्र अवैध भएको र उक्त पार्टीले आफूहरूमाथि गरेको कारवाही पनि अवैध हुने नेताहरुको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्