जनता टाइम्स

२८ असार २०७८, सोमबार ०८:२७

देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर अव प्रयोग हुन सक्दैन : विष्णु पौडेल


काठमाडौँ — एक साताको निरन्तर गृहकार्यपछि एमालेको १० सदस्यीय कार्यदलले पार्टी विवाद निरूपणका लागि दसबुँदे सहमतिको प्रस्ताव तयार गरेको छ । दोस्रो तहका नेताहरूले गरेको यो सहमतिमा नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाएका छन् ।

कार्यदलको सहमतिको प्रस्ताव आएलगत्तै उपप्रधानमन्त्री एवं एमाले विवाद समाधान कार्यदल सदस्य विष्णु पौडेलसँग गरिएको कुराकानी ।

लामो समयदेखि एमालेमा विवाद थियो, अब समाधान भएको हो ?

एमालेभित्र उत्पन्न समस्या र विवाद आजदेखि आमरूपमा र आधारभूत रूपमा समाधान भएको छ । अब एमाले एकताबद्ध भएर अघि बढ्छ ।

यो सहमति कार्यदलस्तरमा भएको हो तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले मान्नुहुन्छ त ?

हामीले कार्यदलमा सहमति गरिरहँदा अध्यक्ष केपी शर्मा ओली र कमरेड माधव नेपाललाई पनि विश्वासमा लिएर गरेका हौं । त्यसैले यो सहमति कार्यान्वयन हुन्छ ।

सर्वोच्च अदालतबाट सोमबार प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला हुने सम्भावना छ । फैसलाअघि हस्ताक्षर फिर्ता गर्नुपर्ने तपाईंहरूको अडान थियो तर यसबारे सहमतिमा स्पष्ट केही भनिएको छैन । ती हस्ताक्षर कायम छन् कि फिर्ता भएका हुन् ?

एमाले एकताबद्ध भइसकेपछि र एमालेभित्रका सबै समस्यालाई आन्तरिक रूपमा समाधान गर्ने बिन्दुमा पुगिसकेपछि अब हिजो विमति र असहमतिका बेलामा गरिएका सबै कामकारबाही स्वतः निष्प्रभावी हुनेछन् । त्यसखालका कामकारबाहीबाट सिंगो नेकपा एमाले अलग हुन्छ । हिजो गरिएको हस्ताक्षरको प्रयोजन अब सकिएको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका निम्ति हाम्रा केही सदस्यले गर्नुभएको हस्ताक्षर एकतापूर्वको विमति, असहमतिको हस्ताक्षर थियो । हामी एकताबद्ध भएका छौं, अब त्यो हस्ताक्षर प्रयोजनहीन भएको छ । देउवालाई प्रधानमन्त्री बनाउन २३ जनाले गर्नुभएको हस्ताक्षर अब कायम छैन । देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनमा अब उहाँहरूको हस्ताक्षर प्रयोग हुन सक्दैन ।

१० बुँदे सहमति त बाहिरी मात्र हो । यसभित्र ओली र नेपालबीचको शक्ति सन्तुलन र पद बाँडफाँटसम्मका भित्री सहमति छन् भन्ने छ नि ?

यो गलत कुरा हो । एमालेभित्र शक्ति सन्तुलनको अभ्यास हुँदै छ भनेर जे प्रचार गरिन्छ, त्यो सच्चाइ होइन । हामी सबै जना पार्टीको वैधानिक व्यवस्थाअनुसार पार्टीलाई सुदृढ गर्न अघि बढ्छौं । कुनै अमूक नेतालाई अमूक पदका निम्ति प्रयासरत भनेर टिप्पणी गरेको सुनिन्छ, त्यसलाई म स्वाभाविक मान्दिनँ । त्यस्ता टिप्पणीले हाम्रा नेताहरूलाई अपमानित मात्र गर्छ । कुनै पनि नेता कुनै पद र शक्ति प्राप्तिका निम्ति प्रयासरत र शक्ति सन्तुलनको खोजीमा हुनुहुन्छ भन्ने जे टिप्पणी हुने गरेको छ, त्यो गलत कुरा हो । त्यस खालको स्थितिमा एमाले छैन ।

अदालतको फैसलापछि उत्पन्न हुने घटनाक्रमहरूमा एमाले अब एकढिक्का हुन्छ त ?

एमाले एकढिक्का भएर अघि बढ्छ । अब विगतको जस्तो अवस्था रहँदैन ।

विगतमा सरकारविरुद्ध नै एउटा समूह उभिएको थियो नि ?

सिंगो एमाले र सिंगो संसदीय दल केपी ओलीको निरन्तरताको पक्षमा एकताबद्ध भएर अघि बढ्छ ।

कार्यदलमा भएको सहमतिको वैधानिकता कहिले, कसरी प्राप्त हुन्छ ?

हामी भोलि ९सोमबार० नै स्थायी कमिटी बैठक बस्छौं । त्यसपछि केन्द्रीय कमिटी बैठक बस्छौं । कार्यदलका सिफारिसलाई कमिटी बैठकबाट अनुमोदन गर्छौं ।

स्थायी कमिटीको अबको बैठक माधव नेपाल र रामबहादुर थापासहितका नेताहरूको संलग्नतामा हुन्छ ?

हो, उहाँहरूसहितको हुन्छ ।