जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार १२:३७

अन्तराष्ट्रिय व्यापार विवाद सामाधानको लागि ‘आईसीडीपासो’ गठन : सार्क राष्ट्रको प्रतिनिधित्व ढकालले गर्ने


काठमाडौं,

चीनको कुनमिङमा आयोजित १४ औं चीन–दक्षिण एशिया व्यवसाय फोरमको बैंठकले इन्टरनेश्नल कमर्सियल डिस्पुट प्रिभेन्सन एण्ड सेटलमेन्ट अर्गनाईजेशन (आईसीडीपासो) गठन गर्ने सहमति गरेको छ ।

आईसीडीपासो अन्तराष्ट्रिय नन प्रोफिट अर्गनाईजेशन हो । जसले कमर्सियल संस्थाको रुपमा टे«ड एसोशिएसन लिगल सर्भिस प्रोभाइडरको रुपमा कामगर्ने बताइएको छ । विश्वभर कार्यक्षेत्र हुने यो संस्थाको काम भोलेन्टरमा आधारित जनाइएको छ । सय भन्दा बढी देश यसको सदस्य रहने संस्थामा सार्कका उपाध्यक्ष चण्डीराज ढकालको प्रतिनिधित्वहुने छ ।

आईसीडीपासोले विश्वव्यपारमा हुँदै आएका व्यवसायीक समस्या समाधानमा पहल गर्ने, व्यवसायीलाई हकहित र संरक्षण गर्ने , व्यवसायीक उच्च वातावरण निमार्ण गर्ने कुरामा प्रतिवद्ध रहेको उल्लेख छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष समेत रहनु भएका ढकालले ‘यो संस्थाले मुख्यगरी अन्तराष्ट्रिय व्यपार विवादहरुलाई समाधानको पहल गर्छ, आयात निर्यात गर्दा कुनै पनि व्यवासायीलाई घाटा नहुँने हिसाबले काम गर्छ । व्यवसायीक कानुनहरु समयअनुकुल कसरी बनाउन सकिन्छ भन्ने विषयमा कन्फेरेन्स गर्ने, अन्तराष्ट्रिय इभेन्टस्मा कसरी राम्रो डेलिभरी दिनसकिन्छ भनेर सुझाव लिने काम गर्छ।’

अहिले चीनको कानुन अनुसार आईसीडीपासोको दर्ता हुने बताउनु भएको छ । यसको मुख्य कार्यलय बेजिङमा हुने छ । यस कमिटीको कार्यअवधि ५ वर्षको रहने छ । हरेक ५ वर्षमा साधरण सभाबाट नयाँ नेतृत्व चयन गर्ने विधानमा उल्लेख छ । यसको विधानलाई अन्तिमरुप दिनको लागि चण्डीराज ढकाललगाएतको टिमलाई जिम्मादिएको छ ।

यो विस्तारै थिंक ट्याङ्कको रुपमा विकासहुँदै जाँदा अन्तराष्ट्रिय लेनदेनमा सहयोग पुग्ने उल्लेख गरिएको छ ।