जनता टाइम्स

२९ असार २०७८, मंगलवार १७:०१

देउवाको नियुक्तिमा तोकिएन संबिधानको धारा, शीतलनिवाशले खुलायो नियुक्तिकर्ता अदालत भएको तथ्य


काठमाडौं, असार २९ । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सर्वाेच्च अदालतको संबैधानिक इजलाशले दिएको परमादेशअनुसार राष्ट्रपति भण्डारीले आज देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बिज्ञप्तीमार्फत राष्ट्रपतिले सर्वाेच्चको फैसलाअनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको जानकारी दिनुभएको छ । घिमिरेका अनुसार देउवा संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त हुनुभएको हो भन्ने खुलाइएको छैन । राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको उल्लेख छ ।

अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । राष्ट्रपतिले सो धारा बमोजिम दावी गरेका देउवा र केपी शर्मा ओली दुवैको दावी नपुगेको भन्दै जेठ ७ गते प्रधानमन्त्रीमा दुवैलाई नियुक्त नगरेपछि प्रतिनिधिसभा विघटन भएको थियो । संविधानको धारा ७६ (५) मा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई दिएकोमा सर्वोच्चले परमादेश दिएपछि देउवाको नियुक्ति अदालतको आदेशका कारण भएको राष्ट्रपति कार्यालयले प्रष्ट पारेको हो ।