जनता टाइम्स

३१ असार २०७८, बिहीबार १७:४१

एनएमबीको स्किममा आकर्षण : मोवाइलबाटै आवदेन दिंदा बिनाधितो २ लाख कर्जा


काठमाडौं, असार ३१

एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलो पटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालनमा ल्याएको सरल कर्जा ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या १,००० पुगेको छ। यो स्किमअन्तर्गत रु. ६ करोड भन्दा बढी कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ । यसअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपबिना डिजिटल रूपमै गर्न सकिने प्रावधान छ ।

यो सेवा बैंकसम्म नधाई मोवाईलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिन्छ । नेपालमा १ करोडभन्दा बढी बचत खाता रहेको छ, जसमा लगभग १६ लाख ग्राहकले मात्र कर्जा सुविधा लिन सफल रहेको देखिन्छ । डिजिटल कर्जामा ग्राहकहरुको खासै पहूँच नदेखिएको अवस्थामा एनएमबिले भने ‘एनएमबि सापटी योजना’मार्फत जनचेतना अभिबृद्धिको साथै स–साना कर्जामा केन्द्रित रहेर ग्राहकहरुलाई डिजिटल कर्जा प्रवाह गरिरहेको छ ।

‘एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै यस बैंकमा तलव खाता हुने र व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिका लागि प्रदान गरिने एक छोटो अवधिको धितोबिनाको कर्जा हो ।’

बैंकले भनेको छ,‘एनएमबि बैंकमा तलव खाता हुने र व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिनासम्मको लचिलो अवधि सहित क्रमशः रु. १ लाख र रु. २ लाखसम्म चौबीसै घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराउँदै आइएको छ । ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आदि आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।’