जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार ०७:४९

लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य, यस्तो छ कारण


बुटवल, साउन १ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवि पौडेलले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी विज्ञप्तिमार्फत् दिनुभएको छ । यसअघि बिहिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु पहिले सत्तापक्षका सांसदहरू सदन छाडेर प्रदेश सभा बैठकबाट हिँडनुभएको थियो ।

बजेटमाथि प्रदेश सभा सदस्यहरूले राखेका प्रश्नको विभागीय मन्त्री र मुख्यमन्त्रीले जवाफ दिएपछि बजेट पास गर्ने समयमा विपक्षी दलका सांसदहरूले बहुमत नभएकोले बजेट पास नहुने बताउनु भएको थियो । बजेटमाथि छलफल गरेर सहमति जुटाउन एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समय माग गरे पनि सभामुखले समय उपलब्ध नगराएपछि एमालेका सांसदहरू प्रदेश सभा बैठकबाट बाहिरिएका थिए।

छलफलका लागि सभामुखले आधा घण्टाको समय दिए पनि सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति जुटेन। अन्ततः सत्तारुढ दल र विपक्षी गठबन्धनबीच छलफल नै नभएपछि प्रदेशसभा सचिवालयले प्रदेश सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो।

अधिवेशन अन्त्यसँगै लुम्बिनीको बजेट अध्यादेशबाट आउने भएको छ । सदनमा सहकार्य गर्न, सहमति गर्न प्रतिपक्ष तयार नभएकाले बाध्य भएर सरकारले यो बाटो रोजेको एमालेले जनाएको छ ।