जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार १३:१८

स्थायी कमिटी बैठकमा बोले भीम रावल, यस्तो छ अध्यक्ष ओलीलाई सुझाव


काठमाडौं, साउन १ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा पुग्नुभएका माधव नेपाल पक्षधर नेताहरू आफ्नो सुझाव राखेर फर्किनु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको अनुमति लिएर उपाध्यक्षसमेत रहनुभएका नेपाल समुहका कार्यदल संयोजक डा. भीम रावलले आफ्नो समुहको सुझाव राख्नुभएको छ ।

बैठकमा उपाध्यक्ष रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य जानुभएको हो । करिव १५ मिनेट बैठकमा सहभागी हुनुभएका नेताहरुले आफूहरु एकतालाई अन्तिम बिन्दुमा पुर्याउने तयारीमा रहेको भन्दै केही दिन स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्न अध्यक्ष ओलीलाई सुझाव दिनुभएको छ । रावलले आफूहरु अध्यक्ष र बरिष्ठ नेता नेपाल दुवैको हितैसी रहेको भन्दै गम्भीर बन्न सुझाउनुका साथै कार्यदलले काम गरिरहेको भन्दै पार्टी एकता जोगाउन अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो ।

रावलले स्थायी कमिटी बैठक र आजको संसदीय दलको बैठक रोकेर एकताको पहल गर्न आग्रह गरे पनि अध्यक्ष ओलीले बैठक कार्यसूची अनुसार अघि बढ्ने जानकारी गराउनु भएको छ ।