जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार ११:०७

फ्रान्सबाट प्रधानमन्त्री ओलीको उदघोष : यसै बर्षभित्र पर्यावरणका विषयमा सगरमाथा संवाद आयोजना गर्छौं


काठमाडौं, जेठ ३२

प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको अन्त्यसम्ममा नेपालले एउटा विश्व मञ्चका रूपमा सगरमाथा सम्वाद (सगरमाथा डाएलग) आयोजना गर्न लागेको जानकारी दिनुभएको छ ।

पर्वतारोहण गतिविधिका लागि प्रसिद्ध फ्रान्सको सुन्दर सहर सामोनी मो ब्लाँमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । सो सहरका मेयर मोरिस हर्जोकले धवलागिरि हिमालको सफलतापूर्वक आरोहण गरेर आठ हजार मिटरभन्दा अग्ला हिमाल पनि चढ्न सकिन्छ भनेर संसारलाई सन्देश दिनुभएको थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालजस्ता केही मुलुकले जलवायु परिवर्तनको भार बोक्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अत्यन्तै कम उत्सर्जन गर्छौं तर पर्यावरणीय प्रणाली बचाइराख्न धेरै योगदान गर्छौँ । यो नमिल्दो भएको छ, यसलाई सच्याइनुपर्छ । ” “नेपालले १५ प्रतिशत भूभाग हिउँले ढाकेको छ । ४५ प्रतिशत भूभाग जङ्गलले डाकेको कुल ६० प्रतिशत हाम्रो भूभाग वातावरणका लागि समर्पित छ ।” उहाँले थप्नुभयो, “हाम्रो हिमाल र जङ्गलको ‘रिर्चाजिङ र कुलिङ’का माध्यमबाट पर्यावरणीय सन्तुलनमा पुर्याएको योगदान अतुलनीय छ । तर धेरै मानिस यसबारे जानकार छैनन् ।”

नेपालमा हाम्रा लागि हिमालहरू प्रकृतिक सुन्दरता मात्र होइनन् । तिनीहरू हाम्रा परिचय हुन् , प्रतीक हुन् र हाम्रो छविका प्रवद्र्धक हुन् भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसैले तिनीहरू हाम्रो हृदयको नजिक छन् ।” प्रधानमन्त्री ओलीले हिमाली संस्कृतिको चर्चा गर्दै भन्नुभयो, “ हिमाली संस्कृतिबारे जब हामी कुरा गर्छौंँ, हामीले सामान्य, इमानदार, कडा परिश्रम गर्ने र आतित्यपूर्ण जीवन पद्धति भन्ने बुझ्छौं ।”

दुर्भाग्यबस मानवका यी अमूल्य स्रोतहरू जलवायु परिवर्तनको बढ्दो क्रमसँगै गम्भीर चुनौतीको सामान गरी रहेका छन् । यसले महत्वपूर्ण प्रकृतिलाई मात्र असर गरी रहेको छैन, तल्लो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसको जीवनलाई नराम्रोसँग असर गरी रहेको छ । उहाँले नेपाल र फ्रान्स भूगोलका दृष्टिले धेरै टाढा भए पनि दुई देशबीच धेरे कुराहरू समान रहेको पनि बताउनुहुँदै हिमाल तथा हिमाली संस्कृति हाम्रो जीवनपद्धतिलाई निर्धारण गर्ने महत्वपूर्ण पक्ष रहेको प्रष्ट पार्नुभयो ।