जनता टाइम्स

२ श्रावण २०७८, शनिबार २०:१२

बालुवाटार जग्गा प्रकरण : फेला पर्यो सार्वजनिक बाटोमा पनि माधव नेपालले मोही कायम गराइदिएको प्रमाण


काठमाडौं, साउन २ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले भूमाफियासँग मिलेर बालुवाटारस्थित ललिता निवाशको जग्गा हडप्ने क्रममा सार्वजनिक बाटोमा पनि मोही कायम गराइ दिएको तथ्य बाहिर आएको छ ।

सर्वाेच्च अदालतले मन्त्रिपरिषदको २९ चैत २०६६, ३१ वैशाख २०६७, २८ साउन २०६७ र १८ असोज २०६९ मा भएका निर्णयको प्रतिलिपि मगाउने आदेश दिएपछि खोजी गर्दा यस्तो तथ्य फेला परेको हो । मन्त्रिपरिषदको चार ओटा बैठकको निर्णय मागेपछि बालुवाटार प्रकरणमा डा. बाबुराम भट्टराई समेत संलग्न भएको तथ्य बाहिर आएको छ । १८ असोज २०६९ मा ललिता निवास सम्बन्धी निर्णय हुँदा बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसअघिका तीन वटा निर्णय तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा भएको थियो ।

सर्वाेच्चका न्यायाधीशद्वय न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले २०७७ चैत १६ गते बालुवाटार जग्गा प्रकरणको चार ओटा मन्त्रिपरिषद बैठकको निर्णयको प्रतिलिपि मगाउने आदेश दिएको थियो ।

जनताटाइम्सलाई प्राप्त दस्तावेजअनुसार एमाले बरिष्ठ नेता नेपाल प्रधानमन्त्री भएका वेला २९ चैत २०६६ मा मन्त्रिपरिषद्ले प्रति जग्गामा ड्राइभर भाइचालाई मोही कायम गर्ने गरी अनुसूची बनाउने निर्णय गरेको थियो भने ३१ वैशाख २०६७ मा नेपाल सरकार (समरजंग कम्पनी), राजकुलो र बाटोको जग्गा समेत मोहीका नाममा दाखिल गर्ने निर्णय भएको थियो । यो निर्णय नै सबैभन्दा घातक रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोत बताउछ । त्यस्तै, २८ साउन २०६७ मा २९ चैत २०६६ मा बनाइएको अनुसूचीमा हेरफेर गर्ने निर्णय भएको थियो ।

यस्तै भट्टराई प्रधानमन्त्री हुँदा १८ असोज २०६९ मा मन्त्रिपरिषद् बैठकले सरकारी जग्गा गुठीलाई दिने निर्णय गरेको थियो । नेपाल सरकार (समरजंग कम्पनी) को नाममा भएका जग्गाहरू दर्ता सच्याई श्री पशुपति टिकिन्छा गुठीका नाममा नामसारी दर्ता गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

यस्तै ९ साउन २०६९ मा भूमिसुधार मन्त्रालयको प्रस्ताव र १४ असोज २०६९ को मन्त्रिपरिषदको सामाजिक समितिले पेश गरेको प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले त्यतिवेला जग्गा (नाप जाँच) ऐन, २०१९ अनुसार नेपाल सरकारको नाममा क्षेत्रीय किताब र श्रेस्ता कायम रहेको जग्गा भुलवश समरजंग कम्पनी उल्लेख भएको भन्दै पशुपति टिकिन्छा गुठीका नाममा श्रेस्ता कायम गरी व्यक्ति विशेषका नाममा मोहीयानी हक कायम गर्ने निर्णय गरेको थियो ।